Comments Add Comment

सैलुङको सामुन्ने खुलेको हिमाल ! (फोटो फिचर)

२१ पुस, काठमाडौं । महाभारत शृङ्खलाको सबैभन्दा अग्लो चुचुरो सैलुङ हिमालको दृष्यावलोकन गर्न सकिने एक रमणीय स्थल हो । त्यसो त सैलुङ आफैंमा रमणीय छ । तामाङ भासामा ‘सै’ को अर्थ सय र ‘लुङ’को अर्थ थुम्का भन्ने बुझिन्छ । त्यसकारण सैलुङ सय थुम्का मिलेर बनेको एक रमणीय चुचुरो हो ।

दोलखा र रामेछापको सीमानामा पर्ने ३ हजार १५० मिटर अग्लो सैलुङबाट धौलागिरि रेन्जदेखि लाङटाङ रेन्ज भित्रका अधिकांश हिमालको अवलोकन गर्न सकिन्छ । सैलुङ हिउँ खेल्न मन पराउनेहरुका लागि आफैंमा एक गन्तब्य हो । तर, कच्ची बाटो भएका कारण पानी परेको बेला वा हिँउ परेको बेला सैलुङसम्म पुग्न भने कठिन छ ।

दोलखाको सैलुङ गाउँपालिकामा पर्ने सैलुङको बेसक्याम्पका रुपमा चिनिने कालापानीसम्म सडक यातायातले छोएको छ ।

कालापानीबाट करिब १ घण्टाको पैदल यात्रापछि नेपालकै एक फरक खालको भौगोलिक बनाट भएको सैलुङ पुग्न सकिन्छ ।

सैलुङका एक सय ८ वटै थुम्कामा सहजै चढ्न सकिन्छ । तर, यसका लागि सामान्यतया तीन दिनको समय छुट्याउनु पर्छ ।

सैलुङको यात्रा दोलखा र रामेछाप दुबै तर्फबाट गर्न सकिन्छ । रामेछापबाट जाँदा चर्चित स्थान दोरम्बा हुँदै उकालो लाग्नु पर्छ ।

दोरम्बाबाट जाँदा सैलुङको सिधै चुचुरोमा पुगिन्छ । त्यसपछि तल झरेर अन्य थुम्का र धार्मिक स्थलको अवलोकन गर्न सकिन्छ ।

त्यसपछि पुनः सबैभन्दा अग्लो थुम्को चढेर मात्र दोरम्बा झर्नुपर्छ । जसले बढी थकानको महसुस हुन सक्छ । सैलुङ भ्रमणलाई सहज बनाउन र बढीभन्दा बढी पर्यटक आकषिर्त गर्न पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको सैलुङ गाउँपालिकाका अध्यक्ष भरत प्रसाद दुलालले जानकारी दिए । सैलुङबाट पश्चिममा धौलागिरि, अन्नपूर्ण हिमाल स्पष्टसँग देख्न सकिन्छ ।

दोलखा जिल्लामा पर्ने गौरीशंकर सैलुङको सामुन्ने अटल रुपमा उभिएको छ । त्यसको छेवैमा दोलखाको चर्चित धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोक पर्छ । कालिन्चोक र सैलुङ आमने सामने भएर उभिएका छन् ।

गणेश हिमाल, लाङटाङ हिमालसहित करिब ३६० डिग्रीकोणमै हिमाल अवलोकन गर्न सकिने सैलुङ यतिबेला पर्यटकको पर्खाइमा रहेको छ । सैलुङबाट झुल्के घाम पर्दा देखिने मनमोहक दृष्यसहित अस्ताउँदो सूर्यको रापले राताम्य बनेका हिमश्रङ्खलासमेत आकर्षक देखिन्छन् ।

तस्वीर : आर्यन धिमाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment