Comments Add Comment

टिकटकमा गन्तब्य प्रचार गरेवापत नगद पुरस्कार पाइने

२१ पुस, काठमाडौं । तपाईले टिकटकमा भिडियो बनाएवापत आम्दानी गर्न कि त ठूलै सेलिब्रेटी हुनुपर्छ, की बजारले पत्याएको भाइरल टिकटकर । तर, अब आम टिकटक यूजर्सले पनि टिकटक बनाएवापत पुरस्कृत हुन सक्ने छन् ।

तर, निश्चित शर्त पुरा गरी टिकटक भिडियो बनाउनु पर्छ । त्यसरी बनाएका भिडियोलाई तपाईले विधि पुर्‍याएर अपलोड गर्नासाथ स्वतः प्रतिस्पर्धामा जानेछ र त्यो भिडियो उत्कृष्ट भएमा आम्दानी समेत हुनेछ ।

नेपाल पर्यटन बोर्डले युवापुस्तालाई गन्तब्य प्रवर्द्धनमा आकषिर्त गर्ने उद्देश्यले यस्तो अफर ल्याएको हो । ‘देशदर्शन टिकटक कम्पिटिसन’ नाम दिइएको यो अभियान १ जनवरीबाट शुरु भएको हो । ३१ मार्चसम्म मान्य हुने भएको छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीका अनुसार अहिलेसम्म बोर्डले प्रवर्द्धन नगरेका नयाँ गन्तब्यहरुको भिडियो टिकटकरले ल्याउनु पर्नेछ । अहिले नै चर्चित बनेका पर्यटकीय गन्तव्यको भिडियो भने मान्य हुने छैन । टिकटिक भिडियोको विषयवस्तुमा लुकेका सांस्कृतिक विषयवस्तुलाई समेत समेट्न सकिने भएको छ ।

टिकटक यूजर्सले नेपाल पर्यटनको बोर्डको टिकटक आइडीलाई फलो गर्नुपर्छ । त्यसपछि आफ्नो भिडियोमा बोर्डको आइडीमा ट्याग गर्नुपर्छ । यसबाहेक भिडियो पोष्ट गर्दा हृयासट्याग ‘नेपालटूरिजमबोर्ड’ र हृयासट्याग ‘देशदर्शन’ समेत राख्नु पर्ने भएको छ । भिडियो १५ सेकेन्डदेखि १ मिनेटसम्मको हुनुपर्ने शर्त बोर्डले राखेको छ ।

भिडियोमा कपीराइटसम्बन्धी विवाद उत्पन्न भएमा भने त्यसको जिम्मेवार स्वयमः यूजर्स हुनुपर्ने समेत शर्त राखिएको छ । अंग्रेजी र नेपाली मध्ये एक भाषामा गन्तब्य प्रवर्द्धन सम्बन्धी भ्याइस राख्न सकिने भएको छ । बोर्डले तोकिएको समय भित्र पोष्ट भएका भिडियो मध्ये हरेक १५-१५ दिनमा एउटा भिडियोलाई २० हजार रुपैयाँ नगद पुरस्कार दिइने बोर्डले जनाएको छ । देशभर लुकेर बसेका गन्तव्यको प्रवर्द्धन गर्न प्रभावकारी हुने देखेरै यो अभियान शुरु गरिएको सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment