Comments Add Comment

दुर्घटनामा परेपछि स्कुटर चलाउँदा फोन उठाएकी छैनः मेलिना राई

मेलिना राई नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका हुन् । उनका ‘कम्मरमाथि पटुकी’, ‘कुटुमा कुटु’देखि तिमिले बाटो फे¥यांै अरे’ लगायतका दर्जनौं गीत हिट छन् । उनका थुप्रै गीतले युटुबमा करोड भ्यूज पाएका छन् । चलचित्रको गीत होस् आधुनिक गीतमा नै किन नहोस्, उनको क्रेज गज्जबको छ । उनै गायिका मेलिनासँग अनलाइनखबरले गरेको रमाईलो कुराकानी यहाँ प्रस्तुत गरिएको छः

१. बिहान कति बजे उठ्नुहुन्छ ?
केही दिनयता अलिकति सन्चो नभएर आराम गरिरहेको छु । ८ बजेतिर उठ्छु । नत्र, अरु समयमा त ७ बजेतिर उठ्छु । गर्मी मौसममा अलिकति चाँडो हुन्छ ।

२. योगा–ब्यायम वा जीम जाने बानी छ ?
जाडो सिजनमा साह्रै गाह्रो हुने रहेछ । व्यायम गर्न पनि गाह्रो, जे गर्न पनि गाह्रो । अलिकति अल्छी भएकी छु । दशैं तिहारको समयमा युटयुबमा हेरेरै व्यायम गरिरहेकी थिएँ ।

३. ब्रेकफाष्ट कतिबेला खानुहुन्छ ?
ब्रेकफाष्ट भनिन्छ नी, त्यो नेपालमा छैन जस्तो लाग्छ । हामीले ब्रेकफाष्ट भनेर हरेक समय भात, तरकारी, दाल नै खाइरहेका हुन्छौं । बिहान उठेर दुई गिलास मनतातो पानी पियो । चिया बिस्कुट खान्छु । त्यसपछि १०–११ बजे खाना खान्छु ।

४. आजको कार्यक्रम के छ ?
आज पनि म रेष्टमै छु । भोलिदेखि रेकर्डिङ, सुटिङमा व्यस्त हुन्छु ।

५. रेकर्डिङ, सुटिङ लगायतका काम नहुँदा कसरी दिन बिताउनुहुन्छ ?
मैले गीत लेख्न, संगीत भर्न पनि कोशिश गरिरहेको हुन्छु ।

६. फेसबुक कत्तिको चलाउनुहुन्छ ?
फेसबुक धेरै चलाउँदिन । पेजमा समय–समयमा फोटोहरु पोष्ट गर्ने, अपडेट गर्ने, आफ्नो गीतहरु शेयर गरिरहेको हुन्छु । कुनै विशेष कार्यक्रम भएको अवस्थामा त्यसको शुभकामना दिइरहेको हुन्छु । हरेक समय मोवाइलमात्रै हेरिराख्ने भन्ने छैन । म इन्टरनेटविना पनि बस्न सक्छु जस्तो लाग्छ ।

७. फोनहरु कत्तिको आउँछ ?
फोनहरु आइरहेको हुन्छ । तर, अहिले मलाई फ्यानहरुको फोन बढी आईरहेको छ ।

८. फोन गरेर उहाँहरुले के भन्नुहुन्छ ?
म तपाईको ठूलो फ्यान हुँ दिदी, नम्बर पाएर फोन गरेको भन्नुहुन्छ ।

९. तपाई फ्यानलाई कस्तो प्रतिक्रिया दिनुहुन्छ ?
म राम्रोसँग बोल्छु । मन पराइदिनुभएकोमा धन्यवाद भन्छु ।

१०. कस्ता ब्यक्तिहरु भेट्दा खुशी लाग्छ ?
मलाई पोजेटिभ कुरा गर्ने ब्यक्तिहरु भेट्दा एकदमै दिल नै चंगा हुन्छ । सकारात्मक कुराहरु गर्ने मान्छे भेट्दा एकदमै खुशी लाग्छ । कुरा काट्ने मान्छेहरु मन पर्दैन । त्यस्ता मान्छेसँग भेट नै नहोस् भन्छु ।

११. काठमाण्डौ भित्र यात्रा के मा गर्नुहुन्छ ?
अहिलेसम्म म स्कुटर नै चलाउँछु ।

१२. कति वर्ष भयो स्कुटर चढ्न थाल्नुभएको ?
करिअरको सुरुवाती चरणबाटै हो ।

१३. कुनै दिन स्कुटर दुर्घटनामा पर्नुभएको छ ?
३ वर्षअघि परेको छु । म एउटा सुटिङका लागि जाँदै थिए । त्यसको भोलिपल्ट संखुवासभामा कार्यक्रमम थियो । कार्यक्रम आयोजकको फोन आइरहेको थियो । भिडियोको निर्देशकले पनि चाँडो आउनु भन्दै फोन गरिरहनुभएको थियो । म स्कुटर कुदाउँदै फोनमा बोलेकी थिए ।

देब्रे हातमा फोन थियो, दाहिने हातले मात्रै स्कुटर चलाइरहेकी थिएँ । त्यतिबेला कलंकीमा दुर्घटना भएको हो । फोनमा बोलिरहेकी थिएँ, स्कुटर स्पिडमै रहेछ । अर्को व्यक्तिले ओभरटेक गरेर बायाँ साइडमा छिर्नुपर्ने रहेछ । ओभरटेट गरेर ह्वात्तै बायाँ साइडमा लाग्दा म आत्तिएर ब्रेक लगाएँ । झ्याप्प ब्रेक लगाउँदा उछिट्टिएर अगाडी पुगेँ । खुट्टा, हातमा चोट लागेको थियो । त्यहाँका मान्छेहरुले उठाएर घरछेउमा लगेर पानीले सफा गरेर मल्हम लगाइदिनुभएको थियो ।

यदि मेरो अगाडी–पछाडी कुनै ट्रक, बस भएको भए के हुन्थ्यो होला ! सम्झँदा पनि डर लाग्छ । त्यो दिनदेखि मैले आजसम्म पनि जस्तोसुकै फोन होस् कहिल्यै स्कुटर चलाएको बेला उठाएकी छैन ।

१४. बेलुका घर कति बेला फर्किनुहुन्छ ?
अहिलेको कुरा नगरौं । कोरोनाले सबै बिगारिदिएको छ । पहिले पहिलेको कुरा गर्दा घर फर्किदा ७ देखि ८ बज्थ्यो । कुनै दिन काम बढी भयो भने १०, साढे १० पनि बज्थ्यो ।

१५. सुत्ने समय ?
सुत्ने पनि ठ्याक्कै यतिबेला भन्ने छैन । एउटा बानी हुँदो रहेछ । १० बजे सुत्न थाल्यो भने १० बजे नै निन्द्रा लाग्छ । इन्टरनेट चलाउन थाल्यो भने लगभग १२–१ पनि बज्छ ।

१६. बिहे कहिले गर्ने सोच छ त ?
अझै २ वर्ष लाग्ला ।

१७. प्रेममा हुनुहुन्छ ?
२ वर्ष लाग्ला भन्दा आफै बुझ्नुहोस् न ।

प्रस्तुतिः सुशिल नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment