Comments Add Comment

सभालाई सम्बोधन गर्न धनगढी आइपुगे प्रधानमन्त्री

प्रधानमन्त्री ओली सवार हवाईजहाज धनगढी विमानस्थलमा

२४ पुस, धनगढी । जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी आइपुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली धनगढी आइपुगेका हुन् ।

प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

धनगढी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रदेश सरकारका कोही पनि पुगेनन् । मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयले प्रधानमन्त्री ओली धनगढी आउने औपचारिक जानकारी नभएकाले स्वागतका लागि कोही नगएको जनाएको छ । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न पूर्वमाओवादीकी प्रदेश प्रमुख शर्मिला त्रिपाठी भने धनगढी विमानस्थल पुगेकी थिइन् ।

हाल सुदूरपश्चिम प्रदेश सरकारमा ओली पक्षको सहभागीता शून्य छ । प्रदेशसभामा पनि प्रचण्ड–माधव नेपाल पक्षकै बाहुल्य छ । विगतमा सुदूरपश्चिम प्रदेश सरकारमा ओली निकट पठानसिंह बोहरा र झपट बोहरा मन्त्री थिए । पठानसिंह बर्खास्तमा परेका थिए भने झपट आफैंले राजीनामा दिएका थिए ।

आफू अल्पमतमा परेको महसुस गरेको ओली पक्षले सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राखेको छ । संसद विघटनपछि काठमाडौं बाहिर ननिस्किएका प्रधानमन्त्री ओली आज पहिलो पटक धनगढी आउनुले पनि त्यसलाई पुष्टि गर्ने जानकारहरु बताउँछन् । काठमाडौंको कार्की ब्यांक्वेटमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा पनि प्रधानमन्त्री ओली आफैं सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment