Comments Add Comment

हाइड्रोजन इन्धन उत्पादनबारे निगमले केयूसँग मिलेर अध्ययन गर्ने

२६, पुस, काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र ग्यासको विकल्पकको रुपमा प्रयोग गर्न हाइड्रोजन इन्धनको व्यवसायिक विकास गर्ने भएको छ । स्वदेशमा उत्पादित बिजुली प्रयोग गरेर हाइड्रोजन इन्धन उत्पादनबारे अध्ययन गर्न निगमले काठमाडौं विश्वविद्यालय (केयू)सँग शुक्रबार समझदारी गरेको छ ।

निगमका निर्देशक दीपक बराल र केयूका स्कुल अफ इन्जिनियरिङका डीन डा.डम्बरबहादुर नेपालीबीच आपसी सहयोगलागि सम्झौता भएको निगमका प्रवक्ता विनित मणि उपाध्ययले बताए । समझदारीले बिजुलीमार्फत हाइड्रोजन उत्पादन गर्ने नीति, उत्पादन, भण्डारण र वितरण केन्द्र स्थापना जस्ता विषयमा विश्व विद्यालयसँग दुई वर्ष प्राविधिक सहयोग निगमले लिनेछ ।

नेपालमा हाइड्रोजन इन्धन विकासबारे यो पहिलो प्रयास भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले दाबी गरे । नेपालमा हाइड्रोजन इन्धन उत्पादन सुरु भए बढ्दो बिजुली उत्पादन खेर जाने चिन्ता हट्नुका साथै भारतबाट आयात भइरहेको पेट्रोल, डिजेल र ग्यासलाई प्रतिस्थापन गर्न सहज हुने पौडेलले बताए । हाइड्रोजन इन्धन रासायनिक मल र औषधि उद्योगका लागि पनि उपयोग हुने निगमले जनाएको छ ।

के हो हाइड्रोजन इन्धन ?

हाइड्रोजन पानीमा विद्युत् प्रवाह गरेर शून्य कार्बनमा उत्पादन हुने इन्धन हो । हाल प्राकृतिक रुपमा प्राप्त भइरहेको डिजेल, पेट्रोल र ग्यास तथा हवाई इन्धनको विकल्पको रुपमा संसारभर यसको प्रयोग बढिरहेको छ । सन् १८३९ को दशकमा विलियम ग्रुभले हाइड्रोजन उत्पादन गर्न सकिने पत्ता लगाएका थिए । संसारभर अहिले कार, बस तथा अन्तरिक्ष यानहरुमा यसको प्रयोग बढिरहेको छ । नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्न सके भारतबाट खरिद गरिने पेट्रोलियमको विकल्प तथा निर्यातकै लागि पनि भविष्यमा उपायोगी हुन सक्ने निगमको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment