यी दुई बच्चाभन्दा पहिले पृष्ठभूमि हेर्नुहोस् । सायद त्यो तलाउ हो, जहाँ हिमालको छायाँ परेको छ । दुवैतिर फूल, माथि हरियो डाँडा । कस्तो मनमोहक ?
पृष्ठभूमि यति मोहक देखिनुको अर्को कारण हो, यसले कुनै कालखण्डको सजीव चित्र उतारिदिन्छ । किनभने यसले तपाईंलाई नोस्टाल्जिक बनाउँछ र कुनै उमेरमा फोटो स्टुडियोभित्र बान्की मिलाई-मिलाई फोटो खिचेको याद आउनेछ ।
हो, यही यादले तानेर हुनुपर्छ, एक अभिनेत्रीले बाल्यकालको फोटो शेयर गरेकी छिन् । यो केही साताअघिको कुरा हो, जतिबेला सन् ८० को दशकलाई सम्झाउने फोटोले सामाजिक सञ्जाल हराभरा थियो । फेसबुक प्रयोगकर्ताहरूले धमाधम ८० को दशकमा कस्तो देखिन्छु भन्ने एआई जेनेरेटेड फोटो पोस्ट गरिरहँदा यी अभिनेत्रीले भने करिब सोही कालखण्डको फोटो पोस्ट गरिन् । तर, यसमा एआईको कमाल थिएन । बरु कुनै बेला रिलमा खिचिने एनालग क्यामेराको जादु थियो ।
त्यो बेला क्यामेरामा रिल हालेर एकदमै जतनसाथ फोटो खिच्ने चलन थियो । स्टुडियोमा गएर फोटो खिच्ने चलन थियो । अनि फोटो खिच्दा सकेसम्म सतर्क पोजिसनमा बस्ने चलन थियो । हेर्नुहोस् त, माथिको फोटोमा पनि त्यसरी नै उभिएका छन् दुई बच्चा ।
त्यसमध्ये एक को हुन् ?
अलि ध्यान दिएर हेर्नुभयो भने भन्नुहुनेछ, ‘अहो, स्वस्तिमा खड्का !’ अहिलेकी सर्वाधिक चर्चित नायिका । उनलाई कहिले तपाईंले रत्नपार्कतिर टेम्पु चलाउने रणकला देख्नुभयो, कहिले बाजुरातिरकी पुष्पा । यो फोटोमा चाहिँ उनको बाल्यकाल ।
भनिहालौँ, अनेक चरित्रलाई उत्तिकै जीवन्तता दिने कुशल अभिनेत्री हुन् स्वस्तिमा । ‘बुलबुल’, ‘चिसो मान्छे’, ‘लालीबजार’जस्ता फिल्मले उनको अभिनय क्षमतालाई राम्ररी उजागर गरिदिए । उनी सुकिला-मुकिला हिरोइनभन्दा बढी समाजका अनेक पात्रको जीवन बाँचेकी छिन् । स्वस्तिमाले चलचित्र करिअरको सुरुवात ‘होस्टेल रिटर्न्स’बाट गरेकी हुन् । पहिलो चलचित्रमा उनले १५ हजार रुपैयाँ पारिश्रमिक पाएको बताउने गर्छिन् । तर, अहिले ?
प्रतिक्रिया 4