Comments Add Comment

चाहेर पनि मलाई हटाउन सकेनन्, यही हो स्थिरता : प्रधानमन्त्री

२६ पुस, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको बताएका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुनु अस्थिरता नभएको जिकिर गरे ।

‘संवैधानिक बाटोबाट जाँदा अस्थिरता भनिँदैन,’ उनले भने, ‘अस्थिरता त्यतिबेला हुन्छ, जतिबेला बाध्य शक्तिको इशारामा जब देशका शक्तिहरु गोटी बन्न थाल्छन्, राष्ट्रिय राजनीतिलाई अस्वस्थतातिर धकेल्न थाल्छन्, विकासका काममा व्यवधान गर्न थाल्छन् र निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिन थाल्छन् ।’

उनले अघि भने, ‘अहिले स्थिरताको स्थिति हो, कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेन ।’

आफूले ५ वर्ष सरकार टिकोस् भन्ने चाहेको तर आफ्नै पार्टीका नेताहरुले देशलाई अस्थिरतामा लैजाने प्रयास गरेको उनको आरोप छ । ‘त्यसमा प्रायोजित सञ्चार माध्यम प्रयोग भएका छन्, बुद्धिजिवीहरुको एउटा झुण्ड पनि लागेको छ,’ उनले भने, ‘संसद विघटनबाट अस्थिरता सृजना गर्ने प्रयास रोकिएको छ ।

संसद विघटनलाई असंवैधानिक र गैरजिम्मेवारपूर्ण कदम भनेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखे । आफूले जिम्मेवारीबोधका साथ प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले भने, ‘लोकतन्त्र ल्याउन जनताले जति बलिदान गरेका छन्, त्यसको हिसाब गरेर पदलोलुप मान्छेहरुलाई हावी हुन दिएर लोकतन्त्रलाई डिरेल गर्न दिन हुँदैन भनेर प्रतिनिधिसभा विघटन गरेको हुँ ।’

आफूले कुनै गल्ती गरेको भए जनताले दण्डित गर्ने भन्दै उनले निर्वाचनमा जान आग्रह गरे ।

पूर्वप्रधानन्याधीशको आलोचना 

उनले संसद विघटनको विपक्षमा उभिएका पूर्वप्रधानन्याधीश र नागरिक समाजका अगुवाहरुको पनि आलोचना गरे ।

उनीहरुले अदालतलाई दबाव दिएको र स्वतन्त्र ढंगले काम गर्न बाधा पुर्याएको उनको आरोप छ ।

पूर्वप्रधानन्यायाधीशहरुले सडकमा उर्लिएर स्वतन्त्र न्यायालयलाई लल्कारेको भन्दै उनले भने, ‘एक जना वकिलले प्रधानन्यायाधीशलाई वर्तमान र भविश्य सम्झिएर फैसला गर्नुस् भनेछन् । अराजकताको पनि हद हुन्छ नि ?’

राजनीतिक पक्षधरता देखाएको र न्यायालयलाई दबावमा पार्न खोजिएको भन्दै उनले भने, ‘न्यायालय दबावमा पर्न हुन्न । सरकार र मैले नेतृत्व गरेको नेकपाले अदालत, शक्ति पृथकीकरणको सिद्धान्त मान्छ ।’

संसद विघटन राजनीतिक निर्णय भएको भन्दै उनले त्यसविरुद्ध परेको रिट खारेज हुनुपर्ने दाबी गरे ।

पद्धतीले न खान दिन्छ, न लाउन

प्रधानमन्त्री ओलीले सरकारले असाधारण काम गरेको, तर आफ्नै पार्टीका नेताहरुले नदेखेको बताए ।

‘सरकारले गरेको काम नदेख्ने, सरकारको विरोध मात्रै गर्ने अनि विधि पद्धती भन्ने ?’ उनले भने, ‘हामीले स्वास्थ्यका क्षेत्रमा, शिक्षाका क्षेत्रमा धेरै राम्रा काम गरेका छौं । एकैदिन ३०९ अस्पताल शिलान्यास भयो । ३८६ वटा गर्ने भनेको विधि कारणले ३०९ वटा गरेको, यस्तो विगतमा एक वर्षमा कसैले गरेको थियो ?’

‘अनि जनताले नबुझ्ने, जनताका सरोकार नभएका विधि, पद्धति ? के बुझ्ने जनताले पद्धति ? न पद्धति लाउन हुन्छ, न खान हुन्छ । विचरा जनतालाई सुनाइदिएको छ विधि पद्धति ।’

चुनावमा केन्दित हुनुस्

कतिपयले संसद विघटनपछि आफ्नो लोकपि्रयता घटेको भन्ने गरेको भन्दै उनले चुनावमा जान चुनौती दिए ।

सांसदहरुले दुई तिहाई नजिक बहुमत भएको प्रधानमन्त्रीले संसद भंग गरेर घोषणा गरेको चुनाव हुन्छ भनेर प्रश्न गरेका थिए । तर उनले तर्क विर्तकमा लाग्नुभन्दा चुनावमा केन्द्रित हुन सुझाए । उनले भने, ‘यहाँहरु त भाग्यमानी हुनुहुन्छ, चुनाव लड्नु पर्दैन । प्रतिनिधि सभा सदस्यहरुलाई भन्न चाहन्छु चुनावमा केन्द्रित हुनुस् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment