+
+

लोकतन्त्र रक्षाका लागि ओलीतन्त्रको अन्त्य हुनुपर्छ : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २७ गते १८:१०

२७ पुस, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले ओलीतन्त्रको अन्त्यबाट नै लोकतन्त्रको रक्षा हुने बताएका छन् ।

पार्टीले वीरगञ्जमा सोमबार आयोजना गरेको जनप्रदर्शन एवं विरोध कार्यक्रममा बोल्दै नेता यादवले ओली सरकारमा रहेसम्म लोकतन्त्रमाथि खतरा हुने बताए ।

‘बहुमतको सरकार आएपछि आर्थिक विकास, किसान मजदुरको राम्रो दिन आयो भन्ने सोचेका थियौं, तर सरकारले रासायनिक मलको समेत व्यवस्था गर्न सकेन । उखु किसान चिसोमा काठमाडौंमा प्रदर्शन गर्न बाध्य भए,’ उनले भने, ‘ओलीले पार्टी तोड्न, संवैधानिक आयोग कब्जा गर्न अध्यादेशबाट देश चलाउन खोजे, ओली सरकार रहेसम्म लोकतन्त्रमा खतरा रहन्छ ।’

ओली संविधान नै खारेज गरेर तानाशाही बन्न तरखरमा रहेको बताउँदै उनले त्यो सपना पूरा हुन दिन नहुने बताए । ‘सार्वभौम सत्ता सम्पन्न जनताको अधिकार कुण्ठित गर्ने अधिकार केपी ओलीलाई छैन, लोकतान्त्रिक मूल्य मान्यतालाई समाप्त पार्नका लागि प्रतिनिधिसभा भंग गरेका हुन्,’ उनले भने, ‘प्रदेशसभा भंग गर्ने, देशमा आपतकालिन अवस्था घोषणा गर्ने र संविधान नै खारेज गरेर देशलाई पछाडि धकेलेर तानाशाह बन्ने सोच ओलीमा देखिएको छ । त्यसलाई कदापी पूरा हुन दिनु हुँदैन ।’

प्रधानमन्त्रीले नै न्यायलय र पूर्वप्रधान न्यायाधीशहरुलाई धम्की दिइरहेको उनको भनाइ छ ।

‘पूर्वराजा ज्ञानेन्द्रले हुकुमी शासन लाद्ने काम गरे, केपी शर्मा ओलीले पनि त्यही गरिरहेका छन्,’ उनले भने, ‘ओलीको मुखौटा कम्युनिस्टको, चेहेरा प्रतिगमनकारी छ, लोकतन्त्रमा उनलाई विश्वास छैन । न्यायलय र पूर्वप्रधान न्यायाधीशहरुलाई धम्की दिइरहेका छन् । लोकतन्त्रको हत्या गरेर तानाशाही शासन तिर लैजाँदैछन् ।’

‘राजनीतिक समस्याको समाधान राजनीतिक हिसाबले नै हुनुपर्छ, प्रधानमन्त्रीले चालेको कदम खारेज गरेर उनलाई सत्ताबाट बाहिर गर्नुपर्छ,’ उनले भने, ‘ संघियता समाप्त पार्ने साजिस गर्ने छुट कसैलाई छैन ।’

ओली सरकार र पार्टी दुवै चलाउन असक्षम देखिएको टिप्पणी गर्दै अध्यक्ष यादवले संसद विघटन अलोकतान्त्रिक, असंवैधानिक कदम भएको बताए । संविधानको धारा १०३ बमोजिम सभामुखले संसद बोलाउनुपर्नेमा त्यसो गर्न नसकेको उनको भनाइ छ ।

नेपाली कांग्रेसतिर लक्षित गर्दै नेता यादवले ओलीले चुनाव नगराउने भएकोले उनको पछि नलाग्न सुझाव दिए ।

कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले केपी ओली देशको कलंकित प्रधानमन्त्री भएको बताए । प्रधानमन्त्रीको तानाशाही र सनकी प्रवृत्तिका कारण देश प्रतिगमनतर्फ उन्मुख भएको उनले बताए ।

विरोध सभमा जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण, सुनिल राउत, प्रदिप यादव लगायतका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?