Comments Add Comment

पृथ्वीजयन्तीमा बिसे नगर्चीलाई सम्मान

२७ पुस, काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा देशका विभिन्न भागमा पृथ्वीनारायण शाहको सम्मानमा कार्यक्रम भइरहँदा नयाँ बानेश्वरमा भने फरक दृश्य देखियो । दिउँसो २ बजे पृथ्वीनारायण शाहको लुगा सिलाउने ‘दमाई’ बीसे नगर्चीको सम्मानमा कार्यक्रम आयोजना गरियो ।

प्रदर्शनीमा कवि श्रवण मुकारुङले आफ्नो चर्चित कविता ‘बीसे नगर्चीको बयान’ सुनाए । लगत्तै पत्रकार एवं लेखक नारायण वाग्ले भने, ‘उता उनीहरू पृथ्वीनारायणको भक्तिमा मग्न हुँदा, यता सडकमा बिसे नगर्चीहरूले अधिकारका लागि लडिरहेका छन् । यो ठूलो कुरा हो ।’

चर्चित कार्टुनिस्टहरू रविन सायमी, रवि मिश्र, अविनका ताजा व्यंग्यचित्र राखिएका थिए । व्यंग्यचित्रले प्रधानमन्त्री केपी ओली र उनको प्रतिगामी कदमलाई कठोर प्रहार गरेको थियो ।

‘जनसांस्कृतिक महासंघ नेपाल’ले आयोजना गरेको उक्त सांस्कृतिक कार्यक्रममा गीत, वाद्य-वादन र कविता वाचनसहित सांस्कृतिक अभियन्ताहरूले मन्तव्य प्रस्तुत गरे ।

लेखक वाग्लेले सबै न्यायप्रेमी नागरिकहरूलाई प्रतिगमनविरुद्ध सडकमा आउन आग्रह गरे । उनले भने, ‘लेखेर, बोलेर, गाएर जसरी सकिन्छ ओलीराजको प्रतिगमनविरुद्ध सडकमा आउनुपर्छ ।’

वाग्लेेको भनाइमा समर्थन जनाउँदै लेखक खगेन्द्र संग्रौलाले आफ्नो आधा उमेर सत्ताविरुद्ध सडकमा संघर्ष गरेरै बित्दाबित्दै फेरि सडकमै आउनुपरेको दुःखेसो पोखे । उनले भने, ‘डोनाल्ड ट्रम्पको गोर्खे अवतार खड्ग ओलीलाई परास्त गर्न सानो संघर्षले सम्भव छैन । ओलीले सारा षड्यन्त्र सोच-विचार गरेर नै गरेका हुन् ।’

लकडाउनपछि पहिलो चोटी सार्वजनिक मञ्चमा उक्लिएका लेखक संग्रौलाले प्रधानमन्त्रीको संसद विघटनलगायत कदमको तीव्र कटाक्ष गरे । उनले भने, ‘एउटा ओलीको विकल्प अर्को ओली हुन सक्दैन । यसैले आज ओलीलाई सत्तामा पुर्‍याउनेहरू पनि यसको भागीदार हुनुपर्छ ।’

संग्रौलाको भाषण सुनिरहेका नेकपा नेता भीम रावल, पम्फा भुसाल, रञ्जित तामाङले आफैंमाथि भएको व्यंग्यलाई सहज रुपमा लिँदै ताली बजाइरहेका थिए । रावल र भुसाल जनसांस्कृतिककर्मीलाई साथ दिन बानेश्वर आइपुगेका थिए ।

‘देश अप्ठेरोमा परेको बेला जनसांस्कृतिकर्मीको महत्त्वपूर्ण भूमिका हुन्छ’, कार्यक्रममा बोल्दै नेकपाका विद्यार्थी नेता रञ्जित तामाङले भने ‘लेखक-कलाकारको विरोधको स्वरमा हामी युवा पनि जागेका छौं ।’

सोही अवसरमा महिला-वाद्यवादन समूहले नौमति बजाएर विरोध गरेका थिए । उनीहरूले ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, मोही छैन’ बोलको गीतमा नौमति बजाएका थिए । १५ पुसमा माइतीघरको विरोध प्रदर्शनीमा पनि यो वाद्य-वादन समूहले नौमति बजाएर विरोध गरेको थियो । उक्त समूहमा सीमान्तकृत र दलित महिलाहरूको बहुसंख्यक उपस्थिति छ ।

यता कर्णबहादर शाही, केशर कालीकोटेले जनवादी गीत गाउँदै प्रतिगमनको विरोध गर्दा अभिषेक बराइलीले ‘जाग लम्क, चम्क हे नौ जवान हो’ गाउँदै सबै नौ जवान उठ्नुपर्ने बताए । कलाकारहरूसँग ऐक्यबद्धता जाहेर गर्दै जनसांस्कृतिक महासंघका सहसंयोजक सरल सहयात्रीले प्रतिगमनविरुद्ध युवा पुस्ता डटेर लाग्ने बताए ।

सहयात्रीले भने, ‘हामी युवाले हरेक दश-दश वर्षमा लड्दै आउनुपरेको छ । आज फेरि ओलीराजको विरुद्ध लड्ने क्रममा मर्ने र मार्ने तहमै उत्रिन हामी तयार छौं ।’

कार्यक्रममा श्रवण मुकारूङसँगै आधा दर्जन कविहरूले प्रतिगमन विरुद्ध कविता वाचन गरे । कवि भूपाल राईले ‘बाघ’, विमल निभाले ‘सिरियल किलर’, विप्लव प्रतीकले ‘मेरो खुल्दुली’ र प्रेमिला राईले ‘शासक’ शीर्षकको कविता सुनाए ।

२०३६ सालको आन्दोलनदेखि सडकमा कविता सुनाउँदै आएका कवि विमल निभाले प्रतिगमनविरुद्ध साहित्य-कलाको ठूलो शक्ति हुने उल्लेख गर्दै ओलीलाई ‘सिरियल किलर’ शीर्षकको कविताले व्यंग्य गरे ।

२०४६ चैत्र ३ गतेको सृजनात्मक आन्दोलनका साक्षी रहेका कवि विमल निभाले आफू सधैं सर्वसत्ताको विरोधमा रहेको प्रष्ट पारे । यस्तै ३६ सालकै विद्यार्थी आन्दोलनदेखि सडकमा उत्रिएको स्मरण गर्दै कवि विप्लव प्रतीकले ‘कति हजार वर्षपछि दास मालिक बन्छ ?’  भन्ने खुल्दुली शीर्षकको कविता वाचन गरे ।

कवि प्रतीकले कवि-कलाकार सधैं मानवअधिकारको पक्षमा हुने बताउँदै स्रष्टाहरूलाई जनतासँगै उभिन आहृवान गरे ।

बाटो हिँडिरहेकाहरूले जनकलाकारले गाएका गीत ध्यानपूर्वक सुनिरहेको देखिन्थ्यो । त्यहाँ उपस्थित सन्तोष धितालले गीत गाउँदै, कविता भन्दै आन्दोलन गर्दा सर्वसाधारणको ध्यान तानिने बताए । उनले भने, ‘सधैं कुटाकुट र तोडफोडले मात्र जनताको कुरा नउठ्न सक्छ । तर कवि-कलाकारको कुरा माथिल्लो तहसम्म पुग्छ ।’

यस्तै अभियन्ता युग पाठकले प्रतिगमनविरूद्ध सृजनात्मक शक्तिले अदम्य बल पुग्ने बताउँदै नागरिक आन्दोलनको ठूलो लहर उठ्ने संकेत गरे । अभियन्ता पाठकले सबै कवि-लेखक र नागरिक अभियन्तालाई एकैठाउँमा उभिएर संगठित शक्ति बन्न आग्रह पनि गरे ।

महासंघ केपी शर्मा ओलीको कदमलाई प्रतिगमन ठहर गर्दै सडकमा उत्रिएको संयोजक सरल सहयात्रीले बताए । उनले आगामी दिनमा बृहत् सांस्कृतिक आन्दोलन सुरुवात गरिने बताए ।

कवि एवं जनसाहित्यिक लेखक संघका सहसंयोजक केशव सिलवालले पनि केपी ओलीको कदम अत्यन्त निन्दनीय भएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको बताए । सिलवालले थपे, ‘प्रतिगामी कदम नसच्चिँदासम्म हाम्रो आन्दोलन रोकिने छैन ।’

यो पनि पढ्नुस्

‘आन्दोलनले एकैचोटि बालुवाटार उडाउँदैन, केही महिना लाग्छ’

(तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment