Comments Add Comment

डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

२८ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्समा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो ।

महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बीबीसीले जनाएको छ ।

ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी छ । महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको विषय पनि उल्लेख छ ।

त्यसैले सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्र्याट पार्टीका सांसद र अन्य नेताहरुले समेत ट्रम्पलाई उनको कार्यकाल समाप्त हुनुअघि नै ह्वाइटहाउसबाट निकाल्न चाहेका छन् ।

राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दैछन् ।

महाअभियोग प्रस्ताव पास होला ?

सुरुमा डेमोक्रेटिक पार्टीका सदस्यहरुले सोमबार अमेरिकी संविधानको धारा २५ प्रयोग गरेर उपराष्ट्रपति माइक पेन्स र मन्त्रिमण्डलका सदस्यहरुलाई ट्रम्पलाई हटाउन माग गरेका थिए । यस धारामा यदि राष्ट्रपति जिम्मेवारी पूरा गर्न अक्षम भयो भने उसको शक्ति उपराष्ट्रपतिमा स्थानान्तरण हुने व्यवस्था छ । यद्यपि रिपब्लिकन सांसदहरुले त्यसलाई अस्वीकार गरे । तर पनि ट्रम्पको खतरा टरेन ।

डेमोक्रेटिक पार्टीका सदस्यहरुले सोमबार फेरि ट्रम्पलाई हटाउने कोसिस गरे । संसद भवन क्यापिटल हिल्समा आक्रमण हुनुको दोष ट्रम्पमाथि लगाइयो र ट्रम्पका कारण देशको सुरक्षा व्यवस्थालाई खतरामा पारेको आरोप लगाइएको छ ।

महाअभियोग प्रस्ताव पास गर्न माथिल्लो सदनमा पनि दुई तिहाइ बहुमत चाहिन्छ । तर माथिल्लो सदनबाट महाअभियोग प्रस्ताव पास हुनेमा डेमोक्र्याट सांसदहरुले नै विश्वस्त नरहेको बीबीसीले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment