२९ पुस, काठमाडौं । लिग लिडर एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा सेभियालाई पराजित गर्दै शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।
मंगलबार राति भएको खेलमा एट्लेटिकोले सेभियालाई २-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले दुवै हाफमा एक एक गोल गरेको थियो ।
एट्लेटिकोलाई जित दिलाउन एन्जल कारेअ र सउल निगुएजले एक एक गोल गरे । खेलको १७ औं मिनेटमा कोरेअले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा सउलले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।
जितपछि एट्लेटिकोले शहरी प्रतिद्वन्दी रियल माथि ४ अंकको अग्रता बनाएको छ ।
१६ खेलबाट एट्लेटिकोले ४१ अंक जोडेको छ । दोस्रो स्थानको रियल मड्रिडको १८ खेलबाट ३७ अंक रहेको छ । एट्लेटिकोले अझै २ खेल कम खेलेको छ । यस्तै बार्सिलोना १८ खेलबाट ३४ अंकसहित तेस्रो स्थानमा छ ।
१७ बाट ३० अंक रहेको सेभिया छैटौं स्थानमा रहेको छ ।
ला लिगाकै अर्को खेलमा ग्रानडाले ओसासुनालाई २-० ले हराएको छ ।
प्रतिक्रिया 4