Comments Add Comment

पर्यटन सेवा सञ्चालकका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड तयार

२९ पुस, काठमाडौं । टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल (टीआरटीएफ नेपाल)ले नेपालका पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल) म्यानुअल तयार पारेको छ । जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेशनको सहकार्यमा बुधबार आयोजित कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा. स्टेफेन रोसेक र टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल -टीआरटीएफ नेपाल) का संयोजक दीपकराज जोशीले एचएचएस प्रोटोकल सार्वजनिक गरे ।

कार्यक्रममा डा. स्टेफेन रोसेकले कोभिड-१८ विश्वव्यापी स्वास्थ्य संकटमात्र नभइ आर्थिक संकटसमेत भएको र यसबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताए । उनले यस क्षेत्रको पुनर्बहालीका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डले प्रभावकारी भूमिका खेल्ने उल्लेख गरे । उनले जर्मन सहयोग संस्था जीआईजेडले नेपालको आर्थिक विकाससम्बन्धी विभिन्न सहयोगका कार्यक्रमहरू सञ्चालन गरिरहेको भन्दै पर्यटनको विकासमा जर्मन सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

डा. रसेकले नेपालको पश्चिमी भागको पर्यटन र आतिथ्य क्षेत्रको सेवाको गुणस्तर र मापदण्ड वृद्धि गर्न यसले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । नेपालको आशालाग्दो पर्यटन गन्तव्यका रुपमा रहेको लुम्बिनी र त्यहाँ बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलसहित एयरपोर्ट र लुम्बिनी प्रदेशमा चलिरहेका अन्य परियोजनाहरूका पर्यटनमा स्वास्थ्य र स्वच्छतासम्बन्धी परियोजना सहायक सिद्ध हुने उनको विश्वास छ ।

टुरिजम् रिकोभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशीले कोभिड-१९ महामारीपछि नेपालको पर्यटन क्षेत्रमा असर पारेपछि नेपालका पर्यटन व्यवसायी र सरोकारवालाबीच गरिएको सर्वेक्षणमा ८५ प्रतिशत साना तथा मझौला व्यवसायीहरूले तालिम, शिक्षा र सचेतना कार्यक्रमको खाँचो औंल्याएको उल्लेख गरे । उनले सोही सर्वेक्षणका आधारमा गेट फाउन्डेसन र जीआईजेडको सहकार्यमा पहिलो चरणमा स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डसम्बन्धी तालिम सञ्चालन गर्न लागिएकोमा खुसी व्यक्त गरे ।

यस परियोजनाले व्यवसाय सुचारु राख्न सरकारद्वारा स्वीकृत मापदण्डमा आधारित पर्यटन र आतिथ्य सत्कार सेवा व्यवसाय सञ्चालकका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल) म्यानुअल बनाएको बताएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ११ वटा छानिएका नगरपालिकामा प्रशिक्षकहरू (स्थानीय चाम्पियन्स) विकास गर्ने लक्ष्य राखेर स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलको प्रशिक्षण सामग्री र मार्गदर्शन तयार पारिएको बताइएको छ । पाटा नेपाल चेप्टरका कोषाध्यक्ष खेम लकाईले स्थानीय तहमा स्थानीय प्रशिक्षक निर्माण गर्दा स्थानीय स्तरमा चाहिएको परिवर्तनलाई सहयो र पैरवी गर्ने अवसर सिर्जना हुने विचार व्यक्त गरे ।

परियोजना संयोजक विवेक पौडेलका अनुसार कार्यक्रमको पहिलो चरणपछि प्रशिक्षित व्यावसायीले प्रत्येक नगरपालिकामा २५० सेवा प्रदायकलाई थप प्रशिक्षण प्रदान गर्ने जानकारी दिए । यस अभियानले पश्चिम नेपालमा कूल २,७५० सेवा प्रदायक स्वास्थ्य तथा स्वच्छताको प्रोटोकललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशिक्षित मानव संसाधन तयार हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment