अर्जुन घिमिरे को हो ? तपाईं सायद अलमलिनुभयो । किनभने यही नाम गरेका त कति होलान् कति । तर, ‘सक्किगो नि, का बुढा क्या’ भनेपछि तपाईंले विस्फारित आँखा बनाएर भन्नुहुन्छ, ‘ए… पाँडे ।’
हो त, पाँडे । अर्जुन घिमिरे ‘पाँडे’ लाई तपाईंले टेलिभिजन, युट्युबमा त छ्यापछ्याप्ती देख्नुभएकै हो । केही महिनाअघि उनलाई ठूलो पर्दामा पनि फेला पार्नुभयो । फिल्म हो, ‘झरीपछिको इन्द्रेणी’ । फिल्मको कथा जल्दोबल्दो थियो । वर्तमान समय र समाजको कथा । फिल्मलाई दर्शकले औधी रुचाए पनि ।
पाँडे भनेपछि नचिन्ने नेपाली सायदै होलान् । बुढापाकादेखि बालबच्चासम्म उनको नक्कल गर्न रुचाउँछन् । नेपाल टेलिभिजनको स्वर्ण युगदेखि नै उनी स्क्रिनमा देखिन थालेका थिए । त्यसबेला लोकप्रिय हास्य शृंखला ‘हिजो आजका कुरा’ बाट उनले अभिनय सुरु गरेका थिए । पछि ‘भद्रगोल’ बाट उनी सार्वजनिक रूपमा बढी चिनिए । खासगरी ‘पाँडे’ पात्रका रूपमा ।
फिल्मको कुरा त अब पुरानो भयो । नयाँ कुरा चाहिँ विद्यालयको पाठ्यपुस्तकको हो । टेलिभिजन र सिनेमा हलमा मात्र होइन, अब अर्जुन घिमिरेलाई किताबमा पनि भेटिन्छ । यो निजी प्रकाशनले छापेको किताब हो ।
अर्जुन घिमिरेले आफ्नो फेसबुक पेजमा एउटा फोटो पोस्ट गरेका छन् । त्यसमा एउटा पाठ्यपुस्तक छ, जहाँ यस्तो लेखिएको छ– ‘तलको तस्बिर पहिचान गरी नाम लेख्ने प्रयास गर्नुहोस् ।’
यो कक्षा १ को किताब रहेछ, ‘हाम्रो सेरोफेरो’ । किताबको अभ्यास खण्डमा ६ जना कलाकारको फोटो राखिएको छ । क्रमशः मदनकृष्ण श्रेष्ठ, दीपाश्री निरौला, बसुन्धरा भुसाल, हरिवंश आचार्य, अर्जुन घिमिरे ‘पाँडे’ र राजेश हमाल ।
अर्जुन घिमिरेले सेयर गरेको फोटोसँगै क्याप्सन छ, ‘कक्षा १ हाम्रो सेरोफेरो’ ।
यसमा भन्न सकिने सबैभन्दा राम्रो शब्द के छ ? ‘बधाई ।’
प्रतिक्रिया 4