+
+
Shares

दूरसञ्चार क्षेत्रको नियमनलाई थप कडाइ र व्यवस्थित गर्छौं : प्राधिकरण अध्यक्ष घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १७:२२

१५ असोज, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको नियमन र व्यवस्थापनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने बताएका छन् ।

प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले दूरसञ्चार अत्यावश्यक सेवा बनिसकेकाले यसको नियमनलाई थप कडाई र व्यवस्थित गर्न आवश्यक रहेको बताएका हुन् ।

दूरसञ्चार क्षेत्रमा देखिएका जटिलता समाधान गर्न नियामक निकायले थप गम्भीर भएर काम गर्नुपर्ने उनले यस्तो बताएका हुन् । उपभोक्ताका रूपमा आफूहरू पनि दूरसञ्चार सेवाबाट प्रत्यक्ष प्रभावित हुने भएकाले सेवा प्रदायकलाई व्यवस्थित बनाउन नियामकले सक्रिय भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

‘अहिले दूरसञ्चार सेवा अत्यावश्यक भइसकेको छ । यो अत्यावश्यक सेवालाई हामीले व्यवस्थित रूपमा लैजान सकिनौ भने त्यसको मार पर्ने हामी पनि कन्जुमर हो । हामी कन्जुमर भएकादे हामीलाई पनि त्यो अवसर त्यो सेवाबाट प्रभाव पर्छ ।  हामीले कन्जुमरका हिसाबले पनि हामीले यो सेवा प्रदायकलाई यति व्यवस्थित गर्नको लागि सिरियस रूपमै लाग्नुपर्ने अवस्था छ,’ उनले भने ।

उनका अनुसार नेपालमा भ्वाइस सेवा प्रदान गर्ने अपरेटरको संख्या विगतमा ६ रहेकामा अहिले दुई वटामा सीमित भएको छ । यस्तै, इन्टरनेट सेवा प्रदायक (आईएसपी) को संख्या भने बढेको उनले बताए ।

दूरसञ्चार क्षेत्रको कुल आम्दानी पनि घट्दो क्रममा रहेको उनको भनाइ छ ।

‘नेपालको टेलिकम सेक्टरमा केही अवस्थााहरू यस्तो जटिल अवस्थााहरू पनि छन् । ती जटिल अवस्थााहरूलाई समाधान गर्नुपर्ने छ । हामी कहाँ भोइस सेवाको अपरेटर ६ वटा थिए, ६ वटाबाट दुई वटामा झरेको अवस्था छ । आईएसपीको संख्या अलिकति बढेको अवस्था छ । टेलिकम सेक्टरको रेभिन्युको पार्ट पनि अलिकति डिक्रीजिङको लाइनमा गएको छ । भलै डेटाको रेभिन्यु त बढेको छ, तर भोइसको रेभिन्यु घटेको अवस्था छ,’ उनले भने ।

हाल डेटा सेवाबाट हुने आम्दानी बढे पनि भ्वाइस सेवाबाट हुने आम्दानी घटिरहेको बताउँदै उनले आम उपभोक्तामा दूरसञ्चार सेवाको प्रयोग भने दिनप्रतिदिन बढिरहेको उनले उल्लेख गरे ।

यी अवस्थालाई ध्यानमा राखेर प्राधिकरणले दूरसञ्चार क्षेत्रको नियमनको दायरा फराकिलो बनाउने, सेवा क्षेत्रलाई थप व्यवस्थित गर्ने र आवश्यक स्थानमा नियमनलाई कडाइ गर्ने उनले बताए ।

‘आम उपभोक्तालाई यसको प्रयोग दिनप्रतिदिन बढ्दै गएको अवस्था छ । यी सबै समग्र रूपलाई हेरेर अब नियमनको दायरा अलिकति फराकिलो पनि बनाउनुपर्ने छ, अलिकति व्यवस्थित पनि गर्नुपर्ने छ, अलिकति स्ट्रिक्टली पनि गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यी सबै विषयहरूलाई विचार गरेर काम गर्नुपर्ने अहिले नियामक निकायलाई चुनौतीहरू पनि छन् । सरकारसँग हामीले समन्वय गरेर काम कारबाहीहरू अगाडि बढाउने छौँ ।’

साथै प्राधिकरणका कामकारबाहीलाई निगरानी गर्दै आवश्यक सुझाव र दबाब दिन पनि उनले आग्रह गरे । प्राधिकरणले कामकारबाहीका क्रममा वाह्य प्रभाव वा दबाब आएमा पनि आफूलाई सही मार्गमा राख्न सञ्चार क्षेत्रले ‘वाचडग’ को भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?