Comments Add Comment

ट्वीटरका सीईओ भन्छन्– ट्रम्पमाथि प्रतिबन्ध लगाउनु सही तर खतरानक

१ माघ, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका सीईओ ज्याक डोर्सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउण्टलाई प्रतिबन्ध गर्ने सही निर्णय भएको बताएका छन् । यद्यपि यो घटनामा दुःख व्यक्त गर्दै डोर्सीले असाधारण र अपरिहार्य अवस्थाका कारण ट्रम्पको ट्वीटर अकाउन्ट स्थायीरुपमा बन्द गरिएको बताएका छन् ।

डोर्सीले ट्रम्पको अकाउन्टमा लगाइएको प्रतिबन्ध असफलता भएको भन्दै उनले यसका लागि हुनुपर्ने स्वस्थ संवाद भने हुन नसकेको बताएका छन् । ट्रम्पको अकाउन्ट बन्द गर्ने विषयमा ट्वीटरको आलोचना र प्रशंसा दुवै भएको थियो । जर्मन चान्सलर एन्जेला मर्केल र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरले ट्रम्पको ट्वीटर अकाउन्टमा प्रतिबन्ध लगाउने निर्णयको आलोचना गरेका थिए । दुवै नेता ट्रम्पका निकट मानिन्छन् ।

ट्वीटरले यस विषयमा स्पष्टीकरण दिँदै ट्रम्पको अकाउन्टमा प्रतिबन्ध लगाएर कम्पनीले कुनै पनि खुसीयाली नमनाएको बताएको छ । ट्वीटरले अमेरिकाको संसद् भवनमा भएको आक्रमणपछि ट्रम्पको ट्वीटरमा प्रतिबन्धको निर्णय गरेको थियो ।

डोर्सीले भनेका छन्, ‘ट्रम्पलाई यसअघि पनि चेतावनी दिइएको थियो । त्यसपछि उनले अकाउन्ट हटाइएको हो । हामीसँग सुरक्षाको विषयमा पर्याप्त सूचना थियो र सोही आधारमा यो फैसला गरिएको हो ।’

डोर्सीले ट्वीटरको यो निर्णयले खुला तथा स्वतन्त्र इन्टरनेटको अधिकारमा असर पर्ने स्वीकार गरेका छन् । उनले यस किसिमको कारबाही आगामी दिनमा खतरानक हुन सक्ने पनि बताएका छन् ।

ट्वीटरले लगाएको प्रतिबन्धको विषयमा केहीले अभिव्यक्ति स्वतन्त्रताको मुद्दा उठाएका छन् । यो मुद्दामा भने ठूलो निजी कम्पनीहरु आफूहरु सरकारी लंग नभएकाले सरकारको नियम मान्न बाध्य नहुने बताउँदै पन्छिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment