Comments Add Comment

आधा उद्योग-व्यवसायमा अझै कोभिडको असर

२ माघ, काठमाडौं । राष्ट्र बैंकले गरेको एक अध्ययनमा झण्डै आधा उद्योग-व्यवसायमा अझै कोभिड-१९ असर बाँकी रहेको देखिएको छ ।

त्यसअनुसार, असारमा ४ प्रतिशत मात्र उद्योग-व्यवसाय पूर्ण सञ्चालनमा रहेकोमा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेको छ । कोभिड प्रभावित ९.७ प्रतिशत उद्योग-व्यवसाय अझै बन्द अवस्था छन् भने ३६.९८ प्रतिशत आंशिक रुपमा चलेका छन् ।

कोभिडको बढी असर साना तथा मझौला उद्योग, पर्यटन र शिक्षा क्षेत्रमा देखिएको छ । ठुला उद्योगहरुको संचालन अवस्था भने राम्रो रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर बताउँछन् ।

उनकाअनुसार खानी तथा उत्खनन्, विद्युत, ग्यास, पानी, होटल, रेष्टुराँ, रियल स्टेट, पर्यटन सम्बद्व व्यावसाय, घरेलु, शिक्षा, साना र मझौला उद्योग तथा शिक्षा क्षेत्रमा कोभिड असर बाँकी रहेको अध्ययनले देखाएको छ ।

अध्ययन प्रतिवेदनअनुसार, खानी तथा उत्खनन् क्षेत्रको एक तिहाई उद्योग-व्यवसाय मात्र पूर्ण सञ्चालनमा छन् । ३३.३३ प्रतिशत आशिंक सञ्चालन र बाँकी ३३.३३ प्रतिशत व्यवसाय अझै बन्द छन् ।

विद्युत, ग्याँस तथा पानी क्षेत्रका ३३ प्रतिशत भन्दा धेरै उद्योग बन्द छन् । कोभिडबाट धेरै प्रभावित अर्को क्षेत्र शिक्षा रहेको अध्ययनको निश्कर्ष छ । असारमा ९५ प्रतिशत असर देखिएको यो क्षेत्र मंसिरमा पनि २९.५५ प्रतिशत बन्द अवस्थामा छ ।

कुल ११.३६ प्रतिशत व्यवसाय पूर्ण सञ्चालनमा आउँदा शिक्षाका ५९.०९ प्रतिशत क्षेत्र आंशिक सञ्चालको अवस्थामा छन् । यस्तै रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलापतर्फ २५ प्रतिशत व्यवसाय अझै बन्द खुलेका छैनन् । त्यस्तै, २३. ७६ प्रतिशत होटल तथा रेष्टुराँ खुल्न सकेका छैनन् ।

कोभिड असर पार गरेका उद्योग-व्यवसाय

केही उद्योग तथा व्यवसायले कोभिडको असर तुलनात्मक रुपमा छिट्टै पार गरेको देखिएको छ । औद्योगिक वर्गिकरणअनुसार बिद्युत, ग्याँस, पानी क्षेत्रका ६६.६७ प्रतिशत उद्योग-व्यवसाय पूर्ण सञ्चालनमा आएका छन् । कृषि, वन तथा मत्स्यपालन क्षेत्रका पनि ६३.६४ प्रतिशत उद्यम पूर्ण सञ्चालनमा छन् ।

कोभिडको असर पार गर्न लागेको अर्को क्षेत्र थोक तथा खुद्रा व्यापार हो । यस क्षेत्रका ६४.९७ प्रतिशत व्यवसाय पूर्ण र ३१.६४ प्रतिशत आंशिक सञ्चालनमा आएको छ । यस क्षेत्रका ३.३९ प्रतिशत व्यावसाय मात्र अझै बन्द छ ।

५० करोडभन्दा बढी लगानीका ७५ प्रतिशत हाराहारी उद्योग-व्यावसाय पूर्ण सञ्चालनमा आएका छन् । लघु उद्यम पनि ५१.५५ प्रतिशत पूर्ण सञ्चालनमा छन् । १५ करोडदेखि ५० करोडसम्म स्थिर पुँजी भएको ४८.९८ प्रतिशत मझौला उद्योग पूर्ण सञ्चालनमा आएको छ । यस क्षेत्रको ३८.७८ प्रतिशत उद्योग-व्यवसाय आशिंक सञ्चालनमा छन् भने बाँकी १२.२४ प्रतिशत अझै बन्दको अवस्थामा छ ।

उद्योग व्यवसायीका समस्या

कोभिड पिडित उद्योग-व्यवसायलाई पहिलेको अवस्थामा फर्काउन ब्याजदर सहुलियत, कर्जा पुनरतालिकीकरण, सहुलियत कर्जा र पुर्नकर्जा सुविधा प्रदान गरिरहेको राष्ट्र बैंक बताउँछ ।

बजार माग घट्नुले भने उद्योगी-व्यवसायीलाई अझै समस्यामा पारेको राष्ट्र बैंकको अध्ययनको निचोड छ । बजार माग घटेर कारोबारमा ह्रास आएको अध्ययनले देखाएको छ ।

उद्योगहरुलाई सञ्चालन खर्च धान्न मुस्कील परेको छ । कर्जा पाउन पनि कठिनाई भएको छ । व्यवसायीहरुले बैंकबाट यथेष्ट सहयोग नपाएको अध्ययनमा उल्लेख छ ।

उद्योग व्यवसायलाई पुरानै अवस्थामा फर्काउन सरकारले कोभिडप्रतिको मनौवैज्ञानिक त्रास हटाउनपर्ने नेपाल चेम्बर अफ कमर्सको धारणा छ । चेम्बरका उपध्यक्ष राजेन्द्र मल्ल कोभिड खोप भित्र्याउनुलाई कोभिडप्रतिको मनौवैज्ञानिक त्रास हटाउने रामवाण मान्छन् । यो काम सरकारको हो ।

उनी भन्छन्, ‘मौद्रीक नीतिमा घोषणा गरिएको महिला, साना र घरेलु उद्योगीहरुलाई राहात दिने नीति कार्यन्वनयन गर्नु अर्को असरदार उपाया हुनसक्छ ।’

मौद्रीक नीतिले काम गर्न थाले पनि केही क्षेत्रगत अन्तरसम्बन्धका उद्योग-व्यवसायमा समस्या कायम रहेको राष्ट्र बैंकको बुझाई छ । राष्ट्र बैंकका प्रवक्ता डा. भट्ट भन्छन्, ‘तरलता र ब्याजदरले समस्या समाधानमा सहयोग गर्नुपर्ने हो, तर अझै मानिसमा त्रासको वातावरण रहेको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment