Comments Add Comment

सर्वाधिक पुरस्कार राशीको स्नुकर हुँदै

४ माघ, काठमाडौं । बौद्धनाथ डेभलोप्मेन्ट कमिटी र बुद्ध तामाङ कल्याण गुठीको आयोजनामा प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता माघ २८ गतदेखि हुने भएको छ ।

नेपाली स्नुकरमा खेलाडी सहभागिताको संख्या र नगद पुरस्कारका हिसाबले यो अहिलेसम्मकै ठूलो प्रतियोगिता भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजन लामाले जानकारी गराए । प्रतियोगितामा विभिन्न ५० जिल्लाबाट २ सय ५६ खेलाडीको सहभागिता रहने जानकारी दिइयो ।

प्रतियोगितामा सर्वाधिक १ सय ४७ अंक ब्रेक गर्नेलाई १० लाख नगद पुरस्कार प्रदान गरिने छ । सेन्चुरी ब्रेककर्तालाई २ लाख १ हजार तथा सर्वाधिक ब्रेककर्तालाई २१ हजार ५ सय नगद पुरस्कार दिइने छ । उत्कृष्ट खेलाडीले ११ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

विजेताले २ लाख ११ हजार ५ सय तथा उपविजेताले ९० हजार नगद पुरस्कार पाउने छन् । तेश्रो हुने दुई खेलाडीले ३० हजार तथा क्वाटर फाइनलिस्ट चार जनालाई जनही १० हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ । प्रि-क्वाटर फाइनलिस्टलाई गिफ्ट ह्याम्पर स्वरुप किउ र किउ बक्स प्रदान गरिने छ ।

त्यस्तै उदीयमान खेलाडी तथा अनुशासित खेलाडीलाई ११ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख ५ सय खर्च हुने संयोजक लामाले बताए ।

प्रतियोगितामा नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघको प्राविधिक सहयोग रहने संघका अध्यक्ष समेत रहेका चारपटकका स्नुकर राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीले जानकारी दिए । प्रि-क्वाटरफाइनल बेस्ट अफ नाइन, क्वाटरफाइनल बेस्ट अफ ११, सेमिफाइनल बेस्ट अफ १३ र फाइनल बेस्ट अफ १५ का आधारमा खेलाइने छ । त्यसअघिका खेलहरु बेस्ट अफ ५ का आधारमा हुने छ । प्रतियोगिताबाट खेलाडीको वरीयता पनि निर्धारण गरिने अध्यक्ष मुल्मीले बताए ।

फागुन २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बौद्धस्थित अजिमा स्नुकर हाउसमा खेलाइने छ । चक्र स्नुकरका पूर्व च्याम्पियन तथा किसन स्नुकर प्रेमीका साथै र स्नुकरका सहयोगी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment