१२ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई जासुरी उपन्यासको पात्रजस्तो भन्दै टिप्पणी गरेका छन् ।
शनिबार एमालेको रामेछाप–काठमाडौं सम्पर्क कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले एमालेको राजनीतिक प्रतिद्वन्द्वी मानिएका प्रधानमन्त्री बालेनबारे भेउ नपाइएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘रवि लामिछाने अभिव्यक्ति आजको हाम्रो प्रतिद्वन्द्वी हो कि, बालेन शाहको मौनता हाम्रो प्रतिद्वन्द्वी हो ? त्यसको भेउ पाइएको छैन,’ भट्टराईले भने, ‘रवि लामिछानेको अभिव्यक्ति खास हो भनेर हामी तयारी गरौंला, उसको मौनता अर्कै छ । के छ के छ ? यो जासुरी उपन्यासका पात्रजस्तो छ । अदृश्य छ । न देख्न सकिन्छ, न बोल्छ, न अन्तर्क्रिया गर्छ, न प्रकट हुन्छ ।’
अहिले प्रधानमन्त्री बालेनको भारत भ्रमणमा भएका सहमतिमाथि पनि उनले प्रश्न उठाए । ‘दुई दिनको भारत भ्रमणजस्तै डोकुमेन्ट केपी ओलीजीले, प्रचण्डजीले अथवा शेरबहादुरजीले गरेको भए यहाँ उहाँहरूको पुतला जलाइन्थ्यो,’ उनले भने ।
दस्ताबेजबारे बुद्धीजीवीहरूले गरिरहेको टिप्पणीमाथि पनि उनले आशंका व्यक्त गरे ।
‘बालेनजी भ्रमण गरेर आउनुभयो । आज भयंकर नेपाल–भारतको सम्बन्धमा डिपार्चर भयो भनेर बुद्धीजीवीहरू पसिना निकालेर प्रशंसा गरिरहनुभएको छ,’ उनले भने,‘यीनै बुद्धीजीवी तीन जना नेताले भ्रमण गरेर आएको भए कालोमोसो दल्नुपर्छ भन्थे । यस्तै डकुमेन्टमा । त्यसकारण यो अदृश्य छ ।’
बालेनका पक्षमा अहिले देशमा टुनामुना र तन्त्रमन्त्र गरिराखेको पनि भट्टराईले टिप्पणी गरे । तर सधैँ यस्तो टुनामुना नचल्ने उनले दाबी गरे ।
‘नक्कली जोगीहरूले एक दिन ठग्छ, दुई दिन ठग्छ हामीलाई । तर, तेस्रो दिनपछाडि त्यो नक्कली जोगी प्रकट हुन्छ । त्यसले ठग्न सक्दैन,’ भट्टराईले भने ।
प्रतिक्रिया 4