१२ मंसिर, काठमाडौं । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा १२ वर्षपछि लेबर पार्टीको सरकार पराजित भएको छ। शनिबार सम्पन्न राज्य निर्वाचनमा लिबरल–नेसनल गठबन्धनले जित हासिल गरेसँगै ३६ वर्षीया लिबरल नेतृ जेस विल्सन राज्यको नयाँ प्रिमियर बन्ने भएकी छन्।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले निर्वाचन परिणामका आधारमा गठबन्धनको जित घोषणा गरेको छ। यससँगै सन् २०१४, २०१८ र २०२२ को निर्वाचन जित्दै लगातार तीन कार्यकाल सरकार चलाएको लेबर पार्टीको सत्ता अन्त्य भएको छ।
विल्सन भिक्टोरियाको ५१औं प्रिमियर बन्नेछिन्। उनी राज्यको निर्वाचनबाट लोकप्रिय मतका आधारमा प्रिमियर चुनिने पहिलो महिला हुन्। ३६ वर्षको उमेरमा उनी भिक्टोरियाको इतिहासकै सबैभन्दा कम उमेरकी प्रिमियरसमेत बन्ने भएकी छन्।
उनी अस्ट्रेलियाली महासंघ स्थापना भएयताकै राज्यको सबैभन्दा कम उमेरकी नेता हुने गार्डियनले जनाएको छ।
लेबर नेता तथा बहिर्गमन हुँदै गरेका प्रिमियर बेन क्यारोलले निर्वाचनमा पराजय स्वीकार गर्दै विल्सनलाई बधाई दिएका छन्। उनले निर्वाचनको रात स्थानीय समयअनुसार राति साढे ८ बज्नुअघि नै विल्सनलाई फोन गरेर पराजय स्वीकार गरेका थिए।
निर्वाचनमा क्यारोल आफ्नै निर्वाचन क्षेत्र निड्रीबाट पनि पराजित भएका छन्। लेबरले ५० वर्षदेखि जित्दै आएको उक्त क्षेत्रमा क्यारोल पराजित हुनु पार्टीका लागि अर्को ठूलो धक्का बनेको छ। राज्य निर्वाचनमा पदमा बहाल रहेकै अवस्थामा आफ्नै क्षेत्रबाट पराजित हुने उनी भिक्टोरियाका पहिलो प्रिमियर बनेका छन्।
क्यारोलले लेबरको पराजयको जिम्मेवारी आफूले लिने बताउँदै मतदाताले परिवर्तन चाहेको सन्देश दिएको स्वीकार गरेका छन्। उनले पार्टीले आगामी चार वर्ष मतदाताको विश्वास पुनः जित्न काम गर्ने बताएका छन्।
सन् २०१० मा एक कार्यकाल सरकार चलाएपछि गठबन्धन सन् २०१४ देखि लगातार तीन निर्वाचनमा पराजित हुँदै आएको थियो। यसपटकको जितसँगै लिबरल–नेसनल गठबन्धन १२ वर्षपछि पुनः भिक्टोरियाको सत्तामा फर्किएको छ।
प्रतिक्रिया 4