Comments Add Comment

स्वदेश फर्किएसँगै रुसका विपक्षी नेता नाभाल्नी पक्राउ

५ माघ, काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नी पक्राउ परेका छन् । आइतबार जर्मनीबाट रुस फर्किएसँगै नाभाल्नी पक्राउ परेका हुन् । नाभाल्नी पाँच महिनापछि जर्मनीबाट रुस फर्किएका हुन् । पाँच महिनाअघि रुसमा विष दिइएको कारण गम्भीर बिरामी परेका नाभाल्नी उपचारको लागि जर्मनी पुगेका थिए । त्यसयता उनी जर्मनीमा नै बस्दै आएका थिए ।

आइतबार मस्को विमानस्थलमा उत्रिएसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो । पाँच महिनाअघि आफूलाई विष दिनुमा सरकारको हात रहेको आरोप नाभाल्नीले लगाउँदै आएका छन् । तर, सरकारले भने यसमा कुनै संलग्नता नरहेको भन्दै आरोप अस्वीकार गर्दै आएको छ । यो घटनाबारे अध्ययन गरिरहेका पत्रकारमाथि नै अनुसन्धान सुरु गरेको भन्दै रुसको आलोचना भइरहेको छ ।

नाभाल्नीलाई पक्राउ गरिएको विषयमा युरोपेली संघ (ईयू), फ्रान्स, इटालीले विरोध जनाएका छन् । उनीहरुले तत्काल नाभाल्नीको रिहाइको माग गरेका छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकारले नाभाल्नीको पक्राउलाई मानव अधिकारको उल्लंघन मात्र नभई रुसी नागरिकहरुको आवाज दबाउने प्रयास भएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment