Comments Add Comment

केयूको उपकुलपतिमा माकाजुसहित तीन जना सिफारिस

डा. रामकण्ठ माकाजु

६ माघ, काठमाडौं । सर्च कमिटीले झण्डै चार दर्जन आकांक्षीहरुमध्येबाट काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा डा. रामकण्ठ माकाजुसहित तीन जनाको नाम छनोट गरेको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले डा. माकाजु, केयूका पूर्वरजिष्ट्रार डा. भोला थापा र शिक्षा विभागका बालचन्द्र लुइँटेलको नाम छनोट गरेको हो ।

केयूको उपकुलपति बन्न इच्छा देखाउँदै ४४ जनाले शिक्षा मन्त्रालयमा निवेदन दिएका थिए ।

संक्षिप्त सूचीमा परेका माकाजु, थापा र लुइँटेलको नामावलीलाई अब कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पठाइने छ र प्रधानमन्त्री ओलीले कुनै एक जनालाई केयूको उपकुलपति नियुक्त गर्ने शिक्षा मन्त्रालयका एक अधिकारीले बताए । उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ ।

माकाजुले केयूको उपकुलपतिको रुपमा लगातार दोस्रो कार्यकाल पूरा गरिसकेका छन् । उनैलाई फेरि सर्च कमिटीले तेस्रो कार्यकालका लागि पनि सिफारिस गरेको छ । आठ वर्षे कार्यकालमा माकाजु विवादित बनेको भन्दै केयूमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले एउटै व्यक्तिलाई पटक–पटक नेतृत्व नसुम्पिन दबाबमुलक कार्यक्रम गर्दै आएको छ ।

केयूका उपकुलपति डा. माकाजुको पछिल्लो कार्यकाल यही माघ १० गते सकिँदै छ ।

केयूको ८८ औं सिनेट बैठकले उपकुलपति छनोट गर्न सहकुलपतिसमेत रहेका शिक्षामन्त्री श्रेष्ठको नेतृत्वमा सर्च कमिटी गठन गरेको थियो । सर्च कमिटीमा केयूको बोर्ड अफ ट्रष्टीका प्रमुख दमननाथ ढुंगाना र केयूका पूर्व उपकुलपति सुरेश राज शर्मा सदस्य छन् । ढुंगाना र शर्मा माकाजुलाई तेस्रो कार्यकाल पनि उपकुलपति बनाउनुपर्ने पक्षमा उभिएका छन् ।

माकाजुले ढुंगानालाई बोर्ड अफ ट्रष्टीमा राख्ने र ढुंगानाले माकाजुलाई नै उपकुलपति नियुक्तिमा सिफारिस गर्ने श्रृंखला वर्षौंदेखि चल्दै आएको भन्दै कतिपयले विरोधसमेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment