+
+

उखु किसान भन्छन्- सरकारले यसपटक पनि झुट बोल्यो

सहमतिको म्याद गुज्रियो, किसानले बक्यौता पाएनन्

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ माघ ६ गते ८:५५
फाइल तस्वीर

६ माघ, काठमाडौं । चिनी मिलबाट ९० करोड बढी बक्यौता दिलाइदिन सरकारले किसान प्रतिनिधिसँग गरेको सहमतिको म्याद गुज्रिएको छ । सरकारले बाचा गरेअनुसार तोकेको समयमा उद्योगहरुबाट सबै बक्यौता रकम नपाएको उखु किसानहरुले गुनासो गरेका छन् ।

केही मिलबाट भुक्तानी सुरु भए पनि तोकिएकै समयमा सबै रकम भुक्तानी गरिदिन सरकारले गरेको सहमति पालना नभएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।

२१ दिनभित्र किसानले दाबी गरेको बक्यौता भुक्तानी गर्ने सहमतिपछि पुस १३ गते किसानहरुले दुई साता लामो काठमाडौं केन्दि्रत आन्दोलन स्थगित गरेर घर फर्किएका थिए । ‘मन्त्रालयमा सोध्दा सबै रकम भुक्तानी निश्चित भएको जवाफ आउँछ तर तीन साता बित्यो किसानको खातामा सबै पैसा आएको छैन,’ मिश्रले अनलाइनखबरसँग भने, ‘सरकारले पैसा नदिलाएर यस पटक पनि झुट बोल्यो ।’ आन्दोलन जारी रहँदाको समयमा भुक्तानी तीव्र भए पनि त्यसपछि भने उद्योगहरुले भुक्तानी कम गर्दै लगेको उनको आरोप छ ।

उद्योगीले दिएको तथ्यांकका आधारमा सरकारले किसानले भुक्तानी पाएको प्रचार गरेर झुट बोलेको संघर्ष समितिका सचिव हरिश्याम राय यादवले बताए । करोडौं रकम किसानले पाएको प्रचार गरेर सरकारले उद्योगीको बचाउ गरेको तर किसानले सबै बक्यौता नपाएको रायको भनाइ छ ।

संघर्ष समितिले प्रारम्भिक रुपमा संकलन गरेको विवरणमा किसानले सबै रकम भुक्तानी नपाएको समितिले जनाएको छ । २१ दिनभित्र सबै रकम भुक्तानी नभए २२ औं दिनबाट उद्योगीको जायजेथा उद्योग मन्त्रालयले जफत गरेर भए पनि किसानलाई रकम उपलब्ध गराउने मौखिक सहमति किसान प्रतिनिधिहरुसँग भएको संरक्षक मिश्रको दाबी छ । उद्योगीले सबै रकम भुक्तानीको सुनिश्चितता मन्त्रालयमार्फत गरेको बताइए पनि किसान प्रतिनिधिले कुनै आधार नपाएको उनले बताए ।

गृह मन्त्रालय भन्छ- भुक्तानी सन्तोषजनक छ

सम्झौता बमोजिम रकम नपाएको गुनासो किसानले गरिरहँदा गृह मन्त्रालयले भने भुक्तानी सन्तोषजनक रहेको दाबी गरेको छ । सोमबार साँझसम्म गृहमन्त्रालयमा प्राप्त विवरण अनुसार कुल बक्यौताको झण्डै ७३ प्रतिशत रकम किसानको खातामा पठाइएको मन्त्रालयले जनाएको छ ।

चार उद्योगबाट ७० करोड ५८ लाख बक्यौता रहेकोमा ५१ करोड ३८ लाख रुपैयाँ किसानको खातामा पठाइएको गृहमन्त्रायका उपसचिव एवं सूचना अधिकारी प्रेमलाल लामिछानेले बताए । भुक्तानी बाँकी रहेको १९ करोड दुई लाख रुपैयाँ किसानलाई उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र अन्य मन्त्रालयसँग समन्वय भइरहेको पनि लामिछानेले बताए ।

कुन मिलले कति भुक्तानी गरे ?

बक्यौता बाँकी रहेका ४ मिलमध्ये श्रीराम सुगर मिलले तोकिएकै समयमा सबै रकम भुक्तानी गरेको छ भने अन्य मिलको भने बाँकी देखिएको गृहमन्त्रालयले जनाएको छ ।
श्रीराम सुगर मिलले ४० करोड ४६ लाख भुक्तानी गर्नुपर्नेमा ३५ करोड ७५ लाख ४४ हजार किसानको खातामा गएको छ भने ४ करोड ७० लाख ५६ हजार रूपैयाँ किसानको विवरण नमिल्दा बैंकमा रोकिएको छ ।

लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख भुक्तानी गर्नुपर्नेमा ४ करोड १६ लाख तिरेको छ भने बाँकी ४ करोड २५ लाख रुपैयाँ भुक्तानी गर्न अझै बाँकी छ ।

अन्नपूर्ण चिनी मिलले १७ करोड रुपैयाँ भुक्तानी गर्नु पर्नेमा ११ करोड २७ लाख किसानको खातामा पठाएको छ भने ५ करोड ७३ लाख रुपैयाँ अझै बक्यौता बाँकी छ ।

यस्तै इन्दिरा सुगर मिलले ४ करोड ७० लाख भुक्तानी गर्नुपर्नेमा १ करोड ५० लाख रूपैयाँ बैंक खातामा पठाएको छ । अब उक्त उद्योगले ३ करोड २० लाख रुपैयाँ खातामा पठाउनु पर्ने गृहका सूचना अधिकारी लामिछानेले बताए ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?