Comments Add Comment

सुदूरपश्चिममा सुस्तायो स्वाब परीक्षण

६ माघ, डोटी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पत्ता लगाउन कुनै बेला सुदूरपश्चिममा दिनकै एक हजारको हाराहारीमा स्वाव परीक्षण हुने गर्थ्यो । तर अचेल स्वाव परीक्षण साताभरीमा पनि हजार पुग्दैन ।

स्वास्थ्य निर्देशनालय डोटीले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गएको एक सातामा प्रदेशमा सात सय १७ जनाको मात्रै स्वाव परीक्षण भएको छ । जसमा ४२ जना संक्रमित देखिएका छन् ।

निर्देशनालयका अनुसार सातामा सवैभन्दा बढी गत मंगलबार एक सय ५७ जनाको स्वाव परीक्षण भएकोमा १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । यस्तै वुधबार एक सय ५३ स्वाव परीक्षण हुँदा १४ जना, विहीबार एक सय ३४ स्वाव परीक्षण गर्दा सात र शुक्रबार १८ स्वाव परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको हो ।

शनिबार भएको एक सय १५ जनाको परीक्षणमा एक र आइतबार १८ मा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यस्तै सोमबार भएको एक सय २२ जनाको स्वाब परीक्षणबाट नौ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार बझाङमा पाँच जनामा संक्रमण देखिएको छ । यस्तै बाजुरा, कैलाली, डोटी र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

एक लाख ३४ हजार परीक्षण

सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ३४ हजार पाँच सय ३१ जनाको स्वाव परीक्षण भएको छ । प्रदेशका ६ स्थानमा पीसीआर परीक्षण प्रयोगशाला छन् ।

कैलाली प्रादेशिक प्रयोगशालामा सबैभन्दा बढी ७३ हजार आठ सय ४६ जनाको स्वाब परीक्षण भएको छ । यस प्रयोगशालामा भएका परीक्षणमध्ये सात हजार दुई सय ७६ जनामा कोरोना संक्रमण देखिएको हो । सोमवार यस प्रयोगशालामा ९५ जनाको स्वाब परीक्षण गरिएकोमा तीन जनामा संक्रमण देखिएको छ ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा हालसम्म भएको २२ हजार ६ सय ४३ जनाको स्वाब परीक्षणमा एक हजार ६ सय ३२ जनामा संक्रमण देखिएको छ । सोमबार यस प्रयोगशालामा परीक्षण भएन ।

डोटी जिल्ला अस्पतालमा रहेको प्रयोगशालामा सात हजार ७१ जनाको स्वाब परीक्षण भएकोमा ६ सय ६५ मा संक्रमण देखिएको छ । सोमबार यस प्रयोगशालामा नौ जनाको स्वाब परीक्षण भएकोमा एक जना संक्रमित देखिए । बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा भएको ६ हजार ९५ स्वाव परीक्षणमा चार सय ७६ मा संक्रमण देखिएको छ । सोमबार यस प्रयोगशालामा भएको १८ नमुना परीक्षण हुँदा पाँच जनालाई संक्रमण देखिएको छ ।

अछाम, कमलबजार प्रयोगशालामा भएको चार हजार चार सय ४२ नमुना परीक्षणमा ६ सय ३६ जनामा कोरोनाको संक्रमण देखिएको छ । सोमबार यस प्रयोगशालामा कुनै स्वास्व परीक्षण भएन ।

यस्तै बैतडी जिल्ला अस्पतालमा भएको दुई हजार आठ सय ९५ स्वाव परीक्षणमा एक सय ९३ जनामा संक्रमण देखिएको छ । सोमबार यस प्रयोशगालामा पनि कुनै परीक्षण भएन ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ हजार तीन सय १८ जनाको स्वाब परीक्षण भएकोमा दुई हजार नौ सय ८४ जनामा संक्रमण देखिएको थियो । यस्तै अन्य प्रयोगशालाहरुमा दुई सय २१ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको थियो । प्रदेशमा हालसम्म १३ हजार नौ सय ९६ जनामा संक्रमण देखिएको छ ।

५५ जनाको मृत्यु

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण ५५ जनाले ज्यान गुमाएका छन् ।

कैलालीमा मात्रै २९ जनाले कोरोनाकै कारण ज्यान गुमाउनु परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । कञ्चनपुरका १० जनाले पनि कोरोनाविरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाउनु पर्‍यो ।

बैतडी, बझाङ र डडेल्धुरामा तीन/तीन जनाले ज्यान गुमाएका छन् । यस्तै अछाम, बाजुरा र दार्चुलामा दुई/दुई जनाले ज्यान गुमाएका छन् भने डोटीमा एक जनाले कोरोनाविरुद्धको लडाइँमा ज्यान गुमाएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment