Comments Add Comment

रुसमा विपक्षी नेताको समर्थनमा प्रदर्शन गर्ने तीन हजारभन्दा धेरै पक्राउ

११ माघ, काठमाडौं । रुसको प्रहरीले विपक्षी नेता एलेक्सि नाभाल्नीको समर्थनमा प्रदर्शन गर्ने तीन हजारभन्दा धेरैलाई पक्राउ गरेको छ । नाभाल्नीको समर्थनमा हजारौं मानिसहरुले शनिबार प्रदर्शन गरेका थिए । प्रदर्शनमा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको थियो । झडपमा प्रहरीले अनावश्यक बल प्रयोग गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।

नाभाल्नी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । गत अघिल्लो आइतबार जर्मनीबाट फर्किएका नाभाल्नीलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो । अगष्टको अन्तिममा भएको विष आक्रमणको कारण अन्तिम अवस्थामा पुगेका नाभाल्नी आफ्नो उपचारको लागि जर्मनी गएका थिए ।

यसअघिको मुद्दाको शर्त पालना नगरेको भन्दै नाभाल्नीलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो । यद्यपि नाभाल्नीले भने आफूमाथि लगाइएको आरोपमा आफ्नो आवाज बन्द गराउने उद्देश्य रहेको बताएका छन् ।

रुसको आन्दोलनको अनुगमन गरिरहेको ओभीडी नामक स्वतन्त्र एनजीओका अनुसार शनिबारको प्रदर्शनमा करिब तीन हजार एक सय मानिसहरु पक्राउ परेका छन् । जसमध्ये करिब १२ सय मस्कोबाट पक्राउ परेका थिए । मस्कोमा भएको आन्दोलनमा करिब ४० हजार मानिसहरु सहभागी भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ । यो आन्दोलन मस्कोका एकसयभन्दा धेरै सहरमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment