Comments Add Comment

प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीविरुद्ध बोल्दैमा कांग्रेस बहकिँदैन : पाण्डे

११ माघ, गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीविरुद्ध बोलेर फकाउँदैमा कांग्रेस नबहकिने बताएका छन् । आइतबार गोरखामा पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थित सिर्जना हुनुमा केपी शर्मा ओली मात्र नभई सिंगो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोषी रहेको बताए ।

‘एक थरीले यो परिस्थिति सिर्जना हुनुमा ओली मात्र जिम्मेवार हुन् भनिरहेका छन्,’ उनले भने, ‘तर यसमा जति ओली दोषी छन्, प्रचण्ड–माधव समूह लगायत सिंगो पार्टी पनि त्यत्तिकै दोषी देखिन्छ ।’

ओली नेतृत्वको सरकार अधिनायकवाद तर्फ उन्मुख भएको कांग्रेसले बारम्बार भन्दै आएपनि प्रचण्ड–माधव समूहले बेवास्ता गरेको उनले बताए । उनले भने, ‘केपी ओली नेतृत्वको सरकारले जब सहमतिको संविधानलाई बहुमतको कानुन बनाएर संविधानले निर्दिष्ट गरेका धाराहरुलाई नियन्त्रण गर्ने प्रयत्न गर्न थाल्यो, त्यही बेलादेखि हामीले यो कम्युनिस्ट शासन झल्काउने सर्वसत्तावादी सोच हो, सरकार अधिनायकवादतर्फ जाँदै छ भनेका थियौं । तर प्रचण्ड–माधव समूहले यो बारेमा प्रतिक्रिया जनाएन, उल्टो यो प्रक्रियामा सधैं प्रधानमन्त्रीलाई साथ दियो, तर अहिले संसद विघटन भएर जब उहाँहरु माथि प्रहार हुन थाल्यो अनि बल्ल ओलीले चालेको कदम असंवैधानिक हो, तानाशाही हो भन्न थाल्नु भएको छ, त्यसैले अहिले प्रचण्ड-माधव समूहले ओली विरुद्धको कुरा गर्दैमा कांग्रेस बहकिनेवाला छैन ।’

संसद पुर्नस्थापना भएर नेकपा पार्टी फुटेमा कांग्रेसको साथविना संसदमा सरकार बन्न नसक्ने भन्दै यो अवस्थामा कांग्रेसले कम्युनिस्ट पार्टीका कुनै पनि पक्षलाई साथ दिनु आवश्यक नरहेको उनले तर्क गरे । कांग्रेसलाई साथ दिन दुवै समूहको अहिले होडबाजी चलेको समेत उनले दाबी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment