Comments Add Comment

लोकदोहोरी र फिल्मी कलाकारविचको पारिश्रमिकमा अन्याय छः सम्झना वुढाथोकी

केही वर्ष अगाडिसम्म लोकदोहोरीको म्युजिक भिडियोमा एकछत्र राज गरेकी थिइन् सम्झना बुढाथोकीले । ‘सुपारी चाम्रो’बाट उदाएकी सम्झना त्यसयता केही वर्ष लगातार म्युजिक भिडियोमा छाइन् ।
१ हजार बढी म्युजिक भिडियोमा काम गरेकी सम्झनालाई हिजोआज भने दर्शकले सानो पर्दामा देख्न पाएका छैनन् । संझनाको दिनचर्या कसरी वितिरहेको छ त, अनलाइनखबरले उनीसँग गरेको कुराकानी यसप्रकार छः

दैनिकी कसरी बितिरहेको छ ?
मेरो बागबजारमा बुटिक व्यवसाय छ । त्यसमै बढी समय दिइरहेकी हुन्छ । अहिले पसल र घरको काममै व्यस्त छु ।

व्यवसाय कस्तो चलिरहेको छ ?
बिचमा लकडाउनले गाह्रो पार्यो । सुटिङ लागि आवश्यक ड्रेसहरु भाडामा जाने भएको हुनाले सुटिङ भएको समयमा व्यवसाय राम्रो हुने हो । अहिले त राम्रो छ ।

भिडियोहरुमा देखिन छाड्नुभयो नी ?
छाडेको नै भन्न त नमिल्ला । फाट्टफुट्ट कामहरु गरिरहेकी छु । केही महिना अगाडि मात्रै सुव्रतराज आचार्यले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा काम गरेकी थिएँ । तर, व्यवसायतिरै ब्यस्त भइरहेको हुनाले बढी समय दिन नसकेकी मात्र हुँ ।

भिडियोमै लगातार काम गरौं भन्ने लाग्छ होला नी ?
त्यो त लागिहाल्छ नी । त्यसैले त फाट्टफुट्ट भिडियोहरु गरिरहेकी हुन्छु । व्यवसायले भिडियोतिर बढी समय दिन नभ्याएकी मात्र हुँ ।

अहिलेका भिडियोहरु कत्तिको हेर्नुहुन्छ ? कस्तो लाग्छ ?
आफू यहि क्षेत्रमा भएपछि नहेर्ने कुरै भएन । अडियो र भिडियो दुबैमा परिवर्तन पाएकी छु । समयअनुसार परिवर्तन हुन आवश्यक पनि छ ।

नयाँ मोडलहरुमा कसको काम बढी मनपर्छ ?
नयाँ मोडलहरुसँग मैले काम गर्न पाएकी छैनँ । तर, नयाँ माध्यम टिकटकबाट धेरै कलाकार भिडियोमा आउनुभएको छ । त्यसमध्ये रेश्मा घिमिरेको काम राम्रो लाग्छ । दोहोरीमा नयाँ नभएपनि अञ्जली अधिकारी, सारिका केसी लगायतले पनि राम्रो काम गरिरहनुभएको छ । उहाँहरुको काम हेर्दा खुसी लाग्छ ।

आफ्ना पुराना सहकर्मी कलाकारहरुसँग अहिले कुरा हुन्छ कि हुँदैन ?
प्रत्यक्ष भेटमा कुरा हुन नपाएपनि सामाजिक सञ्जालमा धेरै साथीहरु हुनुहुन्छ । म्युजिक भिडियोका साथीहरुमात्र होइन, स्कूलका साथीहरु पनि फेसबुकको माध्यमबाट जोडिनुभएको छ । भिडियोका सहकर्मीहरुको कुरा गर्दा सगुन श्रेष्ठ, बिनोद केसी, शंकर बिसी, रञ्जिता गुरुङ लगायतसँग कुरा भइरहेको हुन्छ । रञ्जितासँग त अहिले पनि भेट हुन्छ ।

तपाई म्युजिक भिडियोमा आउँदा पारिश्रमिक कति थियो ?
मैले सुरुवातमा ‘सुपारी चाम्रो’मा २ हजार पारिश्रमिक पाएको थिएँ । पछि विस्तारै ३ हजार, ५ हजार हुँदै ८–१० हजारसम्म पाएकी थिए ।

अहिले म्युजिक भिडियोको लगानी बढेको छ । लोकदोहोरीमा चलचित्र क्षेत्रका कलाकारहरुले लगातार काम गरिरहेका छन् । उनीहरुलाई १ लाख भन्दा बढी पारिश्रमिक दिएको सुनिन्छ । तर त्यो अनुपातमा लामो समयदेखि लोकदोहोरीमा काम गरेका मोडलहरुको पारिश्रमिक बढेको देखिदैन नि किन ?

दोहोरीमा नाँच्ने भनेर हामीलाई तल्लो सोच्ने धेरै नायक–नायिकाहरुले अहिले लोकदोहारीमा नाचेको देख्दा खुशी लाग्छ । तर, लोकदोहोरीमा लामो समय बिताएका मोडलहरुको पारिश्रमिक त्यति बढेको मैले पनि सुनेकी छैनँ ।

यसमा मलाई हाम्रो लोकदोहोरी क्षेत्रकै ब्यक्तिहरुको कमजोरी हो जस्तो लाग्छ । आफूले डिमाण्ड गरेर काम गर्न नसक्नु त कलाकारहरुको नै कमजोरी हो नी । फेरि, हाम्रै क्षेत्रका मानिसहरुले पनि लोकदोहोरीमा मात्र काम गर्ने कलाकारलाई नगनेका हुन् कि जस्तो लाग्छ । चलचित्रका कलाकारहरुलाई १ लाख भन्दा बढी पारिश्रमिक दिदा यही क्षेत्रमा लागेर काम गरेका कलाकारलाई २५–३० हजार दिदा पनि गाह्रो मान्छन् ।

बिहेको लगन अझै जुरेन है ?
खै अहिलेसम्म जुरेको छैन । कहिले जुर्छ भन्न सक्दिनँ ।

ज्योतिषलाई हात हेराउनुभएको होला नी ?
हात पनि हेराएको छैन । हेराउँदा लगन आयो भन्दिए भने त बर्बाद नै भयो । यसका लागि त म पनि तयार हुन पर्यो नी होइन ?

परिवारबाट दवाब छैन ?
परिवारले त हरेक समय भनिरहनुहुन्छ नी । उहाँहरुलाई लगन आएपछि म आफै तयार हुन्छु भन्ने गर्छु । जन्म, विवाह र मृत्यु लेखेरै आउने कुरा हो जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment