+
+
Shares

भीआईपी कैदीलाई डिल्लीबजार कारागारबाट धपाइँदै

कैद बस्दा पनि विवादमा आएका तथा केही चलखेल गरेको सूचना पाएपछि भने अहिले डिल्लीबजार कारागारबाट सरुवा गरिँदै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते ८:५७

१८ असोज, काठमाडौं । नख्खु कारागारमा रहेका व्यवसायी दीपक भट्टको सिन्धुपाल्चोक कारागारमा सरुवा भयो । कारागार व्यवस्थापन विभागको पत्रपछि नख्खुले भट्टलाई शनिबार सिन्धुपाल्चोक पठायो ।

भट्टमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर, बीमा ऐनको कसुर र धितोपत्र सम्बन्धी कसुरमा पक्राउ गरेर मुद्दा चलाइएको थियो । सम्पत्ति शुद्धीकरणको कसुरमा भने उनी कारागार चलान भएका थिए।

काठमाडौं जिल्ला अदालतका  न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बीमा ऐनको कसुरमा भट्टराई १ करोड ५० लाख, धितोपत्र सम्बन्धीको कसुरमा १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो । तर विशेष अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा कारागार चलानको आदेश दिएपछि उनी कारागारमै थिए ।

सुरुमा उनलाई सुविधा सम्पन्न मानिने डिल्लीबजार कारागार चलान गरिएको थियो । २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो कायम गर्दै दायर भएको सम्पत्ति शुद्धीकरण लगायतको मुद्दामा भट्ट र २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर भएका अर्का प्रतिवादी शंकर ग्रुपका  शुलभ अग्रवाल कारागार चलान भएका थिए ।

विशेष अदालतको आदेशपछि उनीहरू ३ असारमा कारागार चलान भए । पुर्पक्षका लागि कारागार चलान हुनेभएपछि प्रायजसो भीआईपी तथा उच्च पदस्थहरूको पहिलो रोजाइमा हुन्छ–डिल्लीबजार कारागार । उनीहरूले आफ्ना वकिलमार्फत न्यायाधीशसमक्ष डिल्लीबजार कारागार मागसमेत गर्ने गर्छन् ।

भट्ट र अग्रवाल पनि भीआईपी बस्ने कारागार भनेर चिनिएको डिल्लीबजार कारागार चलान भए । सम्भवत उनीहरूकै मागअनुसार डिल्लीबजार कारागार चलान गरियो । कारागार नै चलान भइसकेको अवस्थामा कैदीबन्दीको मागअनुसार मिलेसम्म रोजाइकै कारागार पठाउने गरिन्छ । सोही अनुसार भट्ट र अग्रवाल डिल्लीबजार कारागार पुगे ।

तर डिल्लीबजार कारागारमा बसेको १५ दिनमै भट्टको कारागार सरुवा गरियो । त्यतिबेला पनि कारागार विभागबाट एकाएक पत्र आएपछि भट्टलाई ललितपुरस्थित नख्खु कारागार सरुवा गरिएको थियो ।

रातारात २० असारमा नख्खु कारागार सरुवा भएका थिए । त्यतिबेला अधिकारी मात्रै होइन उनीसँगै अर्का भीआईपी अर्थात् नागरिक उड्यन प्राधिकरण (क्यान)का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको पनि कारागार सरुवा भएको थियो ।

अधिकारीलाई भने केन्द्रीय कारागार सुन्धारा सरुवा गरिएको थियो । जबकि यी दुवै जना रोजेर डिल्लीबजार कारागार पुगेका थिए ।

अन्य कारागारमा कैदीबन्दी कोचिएर बस्नुपर्ने, तर डिल्लीबजार कागारमा खुल्ला ठाउँहरू भएकाले रोजाइमा पर्ने गरेको हुनसक्ने जेलेरहरू बताउँछन् । उनीहरूका अनुसार जहाँको कारागारमा बसे पनि सुविधा भने एकै रहेको दाबी छ ।

खुल्ला ठाउँ, भेटघाटका लागि सहज, काठमाडौंको मुख्य सेन्टर पोइन्टमा भएकाले भेटघाट गर्न आउनेलाई पनि सहज भएकाले पनि कैदीबन्दीको रोजाइमा डिल्लीबजार कारागार पर्दै आएको छ ।

श्रीमती हत्यामा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएपछि सशस्त्र प्रहरीका पूर्वडीआईजी रन्जन कोइराला डिल्लीबजार कारागारमा ८ वर्ष ६ महिना बिताए । जिल्लाको फैसला उल्टाउँसै सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले सजाय घटाउने आदेश दिएपछि उनी ८ साउन २०७७ मा डिल्लीबजार कारागारबाट रिहा भए ।

यो आदेश उल्ट्याएर जिल्लाकै फैसला सदर भएपछि कोइराला पक्राउ परे । उनले आफ्ना कानून व्यवसायीमार्फत डिल्लीबजार कारागार पठाइदिने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । तर उनलाई सुन्धारा कारागार पठाइयो ।

कैद बस्दा पनि विवादमा आएका तथा केही चलखेल गरेको सूचना पाएपछि भने अहिले डिल्लीबजार कारागारबाट सरुवा गरिँदै आएको छ । पहिला डिल्लीबजार कारागार बसेका पूर्वडीआईजी कोइरालाले पछि माग गर्दा पनि डिल्लीबजार कारागार पाएनन् । उनलाई सुन्धारा कारागार पठाइयो ।

अर्का भीआईजी प्रदीप अधिकारी पनि सुन्धारा कारागार पुगे । भट्ट त नख्खु कारागार हुँदै सिन्धुपाल्चोक पुगे ।

विगतमा डिल्लीबजार कारागारमा पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वमन्त्री श्यामसुन्दर गुप्ता, खुमबहादुर खड्का, पूर्वसांसद बालकृष्ण ढुंगेल, पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, दुर्गा प्रसाईं, दीपक मनाङे लगायत बसेका थिए ।

अहिले पनि केही भीआईपी डिल्लीबजार कारागारमै छन् । जसमा मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजदेखि, एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद इच्छाराज तामाङ छन् । सुनिल पौडेल, विकल पौडेलदेखि नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम पनि डिल्लीबजारमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?