Comments Add Comment

नवीन र आयशा सम्मानित

११ माघ, काठमाडौं । सुमेरु ग्रुपको सहयोगमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले पल्सर स्पोर्ट्स अवार्ड–२०७६ अन्तर्गत वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड विजेता नवीनकुमार श्रेष्ठ र स्पेसल अवार्ड विजेता आयशा शाक्यलाई सम्मान गरेको छ ।

नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङको स्वागतमा आयोजित कार्यक्रम दुवैलाई सम्मान गरिएको हो । बागमती प्रदेशका अध्यक्ष केशव पुरीले खेलकुद मन्त्री तामाङलाई कार्यकाल सफलताका लागि शुभकामना दिदै प्रशंसा पत्र प्रदान गरे ।

सोही अवसरमा नवीन र आयशालाई बागमती प्रदेश र सुमेरु ग्रुपले छुट्टाछुट्टै प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो । उनीहरुलाई खेलकुद मन्त्री दावा तामाङ, बागमती प्रदेशका अध्यक्ष पुरी र सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले प्रशंसा पत्र प्रदान गरे ।

नवीन तेक्वान्दोका प्रमुख प्रशिक्षक तथा आयशा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ दोहोरो स्वर्ण विजेता हुन् । १३ औं सागमै नवीन नेपाली राष्ट्रिय तेक्वान्दो टोलीको प्रमुख प्रशिक्षक थिए । १३ औं सागमा नेपालले तेक्वान्दोमा १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक जितेको थियो । तेक्वान्दोमा सहभागी सबै २९ खेलाडीले पदक चुमेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री तामाङले सबै मिलेर खेलकुदमा रहेका समस्यलाई समाधान गर्नु पर्नेमा जोड दिदै खेलाडीको रोकिएको प्रोत्साहन भत्ता निकासा गरिसकेको जानकारी गराए । उनले १३ औं सागका स्वर्ण विजेता खेलाडीको प्रोत्साहन भत्ता पनि निकासाका लागि खेलकुद मन्त्रालयले प्रकृया अगाडि बढाइसकेको बताए ।

बागमती प्रदेशका अध्यक्ष पुरीले राष्ट्रिय खेल संघले हासिल गरेको उपलब्धी र क्रियाशिलताका आधारमा संघहरुको वर्गीकरण गरी सहयोग गर्नु पर्ने आवश्यकता औल्याए ।

सुमेरुका अध्यक्ष महर्जनले १४ औं सागमा स्वर्ण जित्ने खेलाडीलाई २ लाख नगद पुरस्कार उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सेकेन्ड क्लास रेफ्रीमा उत्तीर्ण हुन सफल पुम्सेका नोर्बु लामा र ग्योरोगीका रवीन्द्र मल्ललाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment