 
																			११ माघ, वीरगञ्ज । परीक्षा नजिक आइसक्दा समेत विद्यालयमा विषयगत शिक्षक नभएको भन्दै वीरगञ्जस्थित एक विद्यालयका विद्यार्थीहरुले महानगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् । वीरगञ्ज–१६ नगवास्थित नगवा माविमा अध्ययनरत कक्षा ८,९ र १० का विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
नगवा मावि कक्षा १० मा अध्ययनरत एक विद्यार्थीका अनुसार विद्यालयमा ६ महिनादेखि विज्ञान शिक्षक छैनन् । नेपाली विषय पढाउने शिक्षिका पद्मा पौडेलको काजमा त्रिजुद्ध सरुवा गरिएको र ऐच्छिक लेखा विषयको शिक्षक पनि नभएको उनीहरुले बताएका छन् । शिक्षक नहुँदा कक्षा ८, ९, १० को पठनपाठन प्रभावित भएको उनीहरुको भनाइ छ ।
स्कुलबाट पटक–पटक निवेदन पठाएको भएपनि समस्या समाधान नभएकोले विरोध प्रदर्शन गरिएको विद्यार्थीहरुले बताएका छन् ।
शिक्षक महासंघ वीरगञ्जका अध्यक्ष विनोद मेहता नगवा माविमा मात्रै नभएर वीरगञ्जका अधिकांश मावि विद्यालयमा शिक्षक अभाव रहेको बताउँछन् ।
‘वीरगञ्जका अधिकांश आधारभूत तथा मावि विद्यालयहरुमा विषयगत शिक्षक अभाव छ, नगरपालिकासँग पनि शिक्षक छैनन्, प्राथमिक तहमा मात्रै विद्यार्थी अनुपात भन्दा बढी शिक्षक छन्,’ उनले भने, ‘प्राथमिक तहको भएपनि योग्यता पुगेकf शिक्षकलाई माथिल्लो कक्षा अध्यापन गराउन लगाउने गरेका छौं । ’
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले भने दरबन्दी मिलानको क्रममा एकजना शिक्षकको सरुवा गरेर तीन जना दिँदा समेत विद्यार्थीहरुलाई उचाल्ने काम भएको बताए ।
‘एउटै स्कुलमा वर्षौंवर्ष बसिरहने, सहरको स्कुलमा बस्ने गाउँमा जाँदै नजाने प्रवृत्ति शिक्षकमा देखिएको छ,’ उनले भने, ‘शिक्षकको सरुवा गर्ने वित्तिकै विद्यार्थीहरुलाई उकासेर प्रदर्शन गराइन्छ, सरोकारवालासँगको सल्लाहमै दरबन्दी मिलान गरेका छौं ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4