Comments Add Comment

जब आमाबुवाले सम्बन्ध विच्छेद गर्छन्

सम्बन्ध-विज्ञहरु भन्छन्, ‘बुवाआमाले बनाउने दोस्रो सम्बन्धलाई स्विकार्न त्यती सजिलो  हुँदैन । किनभने त्यो सम्बन्ध कुनै पुरानो सम्बन्धलाई बिस्थापित गर्नका लागि आएको हुन्छ । कुनैपनि बच्चालाई आफ्नो पुरानो याद र भावनालाई मेटेर नयाँ सम्बन्ध जोड्न निकै गाह्रो हुन्छ ।’

हामी जन्मदेखि जसको सामिप्यतामा हुर्कन्छौं, उनीहरुसँग खास भावनात्मक लगाव हुन्छ । शारीरिक, भावनात्मक रुपले एकाकार भएका हुन्छौं । हठात बुवा वा आमाबीच सम्बन्ध टुटेर दोस्रो सम्बन्ध स्थापित भएमा त्यसले बच्चाको भावनामा गहिरो चोट पुग्छ । यो मानसिक आघातले उनीहरु गास खल्लो बनाउँछ, निद्रा विथोलिन्छ, खुसी फिका हुन्छ ।

निश्चय पनि दम्पतीको सम्बन्ध टुट्नु राम्रो होइन । यसले स्वयम् उनीहरुको जीवनलाई मात्र तहसनहस बनाउँदैन, छोराछोरी, आफन्त, छिमेकी र समाजलाई नै गह्रौ बोझ बन्छ । यद्यपी कसैले पनि चाहेर वा नियोजित ढंगले सम्बन्ध विच्छेद गर्दैन ।

जीवनभर साथ रहने वाचा गर्दै बाधिएका जोडीहरु जीवनको कुनै मोडमा आइपुगेपछि आपसमा टुक्रिन्छन् । यसो हुनुमा उनीहरुको प्रवृत्ति, व्यवहार, परिस्थिती थुप्रै तत्वले काम गरेको हुन्छ । भनौं, नचाहेरै पनि दम्पतीबीच खटपट हुन्छ । सम्बन्ध दुई चिरा पर्छ ।

दम्पतीबीच मतभेत रहन्छ भने त्यसको निचोड खोज्न सकिन्छ । यदी दुबै मिल्नै नसक्ने अवस्थामा छन् वा परिस्थितीले त्यही मोडमा पु¥याएको छ भने यसले बालबच्चाको भावनामा पुग्ने क्षतिबारे बुझ्न जरुरी छ । श्रीमान्–श्रीमतीले छोराछोरीलाई कसरी सहज रुपमा यसबारे थाहा दिने वा कसरी यस्तो परिस्थिती झेल्नका लागि तयार राख्ने भन्ने कुरामा हेक्का राख्नुपर्छ । हुन त यो कुरा कुनै आदर्श जस्तो वा अव्यवहारिक जस्तो हुनसक्छ ।

किनभने हामी त्यसबेला तनावग्रस्त हुनसक्छौं, विक्षिप्त हुनसक्छौं, आवेगमा हुनसक्छौं । यद्यपी आफ्नो परिस्थितीलाई मात्र केन्द्रमा राखेर सोच्नु हुँदैन । आफ्नो कारण छोराछोरी कुन परिस्थितीसँग जुधिरहेका होलान् भन्ने कुरालाई सबैभन्दा बढी सोच्नुपर्छ ।

यसमा दम्पती मात्र होइन, परिवारजन र समाजको पनि अहंम भूमिका हुन्छ । यसरी छुटिदै र टुक्रिदै गरेका दम्पतीका बालबच्चालाई कसरी सहज वातावरण बनाइदिने ? कसरी उनीहरुको भावनामा चोट नपु¥याउने भन्ने कुरामा समाजले आफ्नो भूमिका वहन गर्नुपर्छ । किनभने त्यस्तो परिस्थिती पराईको घरमा मात्र होइन, तपाई हाम्रो घरमा पनि आउनसक्छ ।

विज्ञहरुले भन्ने गरेका छन्, आमाबुवाको सम्बन्ध जुन हिसाबले गुज्रिरहेको छ, त्यसबारे बच्चालाई थाहा दिनुपर्छ । उनीहरु त्यसबारे स्पष्ट हुन यसकारण पनि जरुरी छ कि, अबको परिस्थितीलाई कसरी झेल्ने भन्ने कुरामा उनीहरुले मानसिक तयारी गर्न सक्छन् । वा मानसिक रुपले त्यसरी तयारी राख्न सजिलो हुन्छ ।

बुवा वा आमाले दोस्रो विवाह गरेको कुरा छोराछोरीलाई पक्कै राम्रो लाग्दैन । यसले उनीहरुमा नकारात्मक असर गर्छ नै । यद्यपी स्विकार्नैपर्ने कुरा भएपछि त्यसमा गुनासो गरिरहनु वा दुखी भइरहनु पनि समधान भएन । त्यसैले जब बुवाआमाले दोस्रो विवाह गर्छन्, छोराछोरीले पनि त्यसलाई स्विकार्नका लागि मानसिक तयारी गर्नुपर्ने हुन्छ । यसका लागि परिवार र समाजले खास भूमिका खेल्न सक्छन् ।

विज्ञहरु भन्छन्, यसरी आामाबुवाले बनाउने नयाँ सम्बन्धलाई स्विकार्न छोराछोरीलाई निकै मुस्किल त हुन्छ । तर, यसलाई आपसी कुराकानी, छलफलबाट सामान्य बनाउन सकिन्छ ।

यसरी जोडिने नयाँ सम्बन्धबारे छोराछोरीलाई स्पष्ट रुपमा बुझाइएन भने त्यो अझ जटिल हुनसक्ने विज्ञहरुको भनाई छ । विज्ञहरु भन्छन्, ‘कतिपयले यस्ता सम्बन्धलाई घुमाई–फिराई साँचो कुरा लुकाउने यत्न गर्छन्, त्यो सबैभन्दा खतरनाक हुनसक्छ । कुरा जति स्पष्ट हुन्छ, समस्या उत्तिनै कम हुन्छ ।’

हुन त बच्चालाई के लाग्छ भने, आफुमाथि धोका भयो । उनीहरु यसबाट क्रोधित वा दुखी हुनसक्छन् । विज्ञहरु भन्छन्, यसले बच्चालाई डिप्रेसनको अवस्थामा पु¥याउन सक्छ ।

मनोविज्ञहरु भन्छन् कि, दुखको कारण त यसले गर्दा पनि हुन्छ कि यसरी भित्रिएका सौतेनी आमा वा वुवाले घरमा अधिकार जमाउन खोज्छन् । यो एकदमै नराम्रो कुरा हो ।

जब कुनै परिवारमा दोस्रो व्यक्तिको प्रवेश हुन्छ, तब उनीहरुले परिवारको आवश्यक्ता, प्राथमिकतालाई ध्यानमा राखेर आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने हुन्छ । घरलाई कसरी सम्हाल्ने, कसरी छोराछोरीको ख्याल गर्ने भन्ने कुरामा उनीहरुले सोच्नुपर्छ । किनभने सौतेनी आमा वा बुवा सधै नराम्रो हुन्छ भन्ने पनि छैन । उनीहरुले टुटिसकेको घरलाई पुन नयाँ रुप दिन सक्छन् । नयाँ प्राण भर्न सक्छन् ।

विज्ञहरु भन्छन्, ‘सौतेनी सम्बन्ध कुनै पुरानो सम्बन्ध रहँदा वा टुटिसकेपछि आउने हो । तर, हाम्रो समाजले पहिलो सम्बन्धलाई नै श्रेष्ठ मान्ने गरेको छ ।’

हामीकहाँ पहिलो विवाहलाई सबैभन्दा पवित्र र जिन्दगीभरको सम्बन्ध मानिन्छ । त्यही कारण दोस्रो विवाहलाई समाजले पचाउँदैन, स्विकार्दैन । यस्तो अवस्थामा चुनौती त आउँछ नै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment