Comments Add Comment
प्रधानमन्त्री कप :

आर्मीलाई हराउँदै एपीएफ बन्यो समूह विजेता

१२ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय डर्बीको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गरेको छ ।

लगातार चार जित हात पारेको एपीएफ समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको छ । यस्तै आर्मी समूह उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ ।

एपीएफले अब समूह बी को उपविजेता नेपाल पुलिससंग खेल्नेछ भने आर्मीले समूह बी को विजेता बागमती प्रदेशसंग दोस्रो सेमिफाइनल खेल्नेछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९.४ ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।

जवाफमा २४१ रनको लक्ष्य पछ्याएको आर्मीले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २३४ रन मात्र बनाउन सक्यो । आर्मीका लागि अनिल मण्डलले सर्वाधिक ४६ रन बनाए ।

आर्मीलाई लोकेश बम र अनिल मण्डलले राम्रो सुरुवात दिलाएका थिए । तर छैटौं ओभरको पाँचौ बलमा लोकेश २१ रन बनाएर आउट भए । लगत्तै अर्को बलमा हरि चौहान खाता नखोली आउट भए ।

त्यसपछि कप्तान विनोद भण्डारी १० औं ओभरमा शून्यमा आउट भएपछि आर्मीले ३६ रन हुँदा ३ विकेट गुमायो ।

त्यसपछि अनिल र रोहित पौडेलले अर्धशतकिय साझेदारी गर्दै आर्मीको इनिङ्स उकासेका थिए । तर अनिल २७ ओभरमा रनआउट भए । उनले ७६ बल खेल्दै ८ चौकाको मद्दतमा ४५ रन बनाए । ३० औं ओभरमा रोहितलाई भुवन कार्कीले कमल ऐरीबाट क्याच आउट गराए । रोहितले ३० रन बनाए ।

त्यसपछि भीम सार्की र राजेश पुलामी मगरले छैटौं विकेटका लागि ५० रनको साझेदारी गर्दै केही आशा दिलाएका थिए । तर ४० ओभरको तेस्रो बलमा भीम भुवनको बलमा बोल्ड भए । भीम २७ रन बनाएर आउट भए ।

राजेश पुलामी मगर र बिक्रम सोबले सातौं विकेटका लागि ३९ रनको साझेदारी गर्दै आर्मीलाई आशा देखाएका थिए । तर ४५ औं ओभरको अन्तिम बलमा राजेशलाई अभिनाश बोहराले बोल्ड गरे । यस्तै ४६ औं ओभरको पहिलो बलमा बिक्रम लाई सब्स्टिच्युट फिल्डर शंकर रानाले रनआउट गराए ।

त्यसपछि आकाश चन्द र शहाब आलमले खेललाई अन्तिम ओभरसम्म पुर्‍याएपनि जित दिलाउन सकेनन् । अन्तिम ओभरमा जितका लागि १९ रन चाहिएको अवस्थामा बर्मीले १२ रन मात्र बनाउन सक्यो । शहाब २०  आकाश १६ रनमा अविजित रहे ।

एपीएफका लागि कमल सिंह ऐरीले १० ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिए । यस्तै भुवन कार्कीले १० ओभरमा २ मेडन राख्दै ३६ रन खर्चेर २ विकेट लिए ।  अभिनाश बोहराले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ  गरेको एपीएफले ४९.४ ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।

एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ४६ रन बनाए । उनले ६८ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे । यस्तै सुवास खकुरेलले ३८, सन्दीप जोराले २८, अमर राउटेलाले २६, शरद भेषावकरले २४ र बसन्त रेग्मीले २० रन बनाए ।

ओपनर आसिफ शेख ७ रनको व्यक्तिगत स्कोर आउट भएपनि त्यसपछि मिडल अर्डरका खेलाडीले दोहोरो अंकमा रन जोड्दा एपीएफले आर्मीविरुद्ध प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो । पाँचौ विकेटका लागि सुमित र बसन्तले ५७ रनको साझेदारी गरेका थिए ।

आर्मीका लागि हरिबहादुर चौहानले ९.४ ओभरमा १ मेडन राख्दै ६० रन खर्चेर ४ विकेट लिए । यस्तै किफायती बलिङ गरेका शाहाब आलमले १० ओभरमा २ मेडन राख्दै २३ रन खर्चेर २ विकेट लिए । आकाश चन्द, विक्रम सोव र सुशन भारीले समान १ विकेट लिए ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment