Comments Add Comment

बारामा सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

१३ माघ, वीरगञ्ज । बारामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा खोटाङ बस्ने ३६ वर्षीय लाल बहादुर पाण्डेको मृत्यु भएको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरा भित्री सडकखण्डबाट वीरगञ्ज–पथलैया सडकखण्डस्थित छातापिपरा निस्कने क्रममा बा.३ क ३७३६ नम्बरको मिनी ट्रकले पैदल यात्रु पाण्डेलाई ठक्कर दिएको थियो ।

मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको थियो । उपचारको क्रममा उनको राति ८ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ ।

त्यसैगरी वीरगञ्ज–कलैया सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन् । कलैया उपमहानगरपालिका–५ घुसुकपुर बस्ने ४८ वर्षीय निर्मला देवी सोनार घाइते भएकी हुन् । सोमबार साँझ कलैयातर्फ जाँदै गरेको ना.२ त.२८२८ नं. को ट्याक्टरले पैदल हिँडिरहेकी निर्मलालाई ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागि घाइते भएकी थिइन् । उनलाई उपचारको लागि नरसिंह अस्पताल कलैयामा पठाइएकोमा अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

चालक बारा प्रसौनी गाउँपालिका–५ बन्जरीया टोल बस्ने २२ वर्षीय मनोज कुमार राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment