Comments Add Comment

चलचित्रमा अभिनय गर्ने सोच छैनँ: खेम सेञ्चुरी

लोकदोहोरी क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि सक्रिय छन् खेम सेञ्चुरी । उनका ‘लरि लरिलै’, ‘चिया छानेको’, ‘सोचेँ झै जिन्दगी रैनछ’, ‘झ्यालमा पर्दा छ’ लगायतका गीतले युटुबमा करोड भ्यूज पार गरेका छन् । यी बाहेक उनका अन्य थुप्रै गीत दर्शक तथा श्रोताले रुचाएका छन् । खेमको शब्द, संगीत, स्वर र अभिनयमा हालसम्म ५ सय भन्दा बढी गीत सार्वजनिक भैसकेका छन् । उनै, खेमसँग अनलाइनखबरले गरेको कुराकानी यसप्रकार छः

हिजोआजको ब्यस्तता के मा छ ?
म गीतको रेकडिङ र भिडियोको छायांकनमा नै व्यस्त छु । हिजोका दिनमा दर्शक तथा श्रोताले मेरो शब्द र संगीतलाई रुचाउनुभएको थियो भने पछिल्लो समयमा स्वरलाई पनि रुचाउनु भएको छ । मैले आफ्नो मात्र नभई अरुको पनि गीत गाइरहेको छु । म्यूजिक भिडियोमा पनि अभिनय गरिरहेको छु ।

तपाई गीत गाउनुपनि हुन्छ, भिडियोमा अभिनय पनि गर्नुहुन्छ । आफूलाई सर्जक र मोडलमध्ये कुन परिचयले चिनाउन चाहनुहुन्छ ?
कलाकार भैसकेपछि आफूले जानेका कुराहरु नै दर्शक तथा श्रोताहरुलाई प्रस्तुत गर्ने हो । हिजोका दिनमा मैले शब्द कोरे कै हो, भाका बनाएकै हो । गायकीको हिसाबले पनि मैले कत्तिको राम्रो गीत गाउँछु भनेर मुल्यांकन गर्ने काम श्रोताको हो । अभिनयलाई पनि दर्शकले नै मुल्यांकन गर्ने कुरा भयो । तर, दर्शक तथा श्रोताले मलाई अडियो र भिडियो दुबैमा रुचाउनुभएको छ । यसैले पनि मैले आफूलाई गायक तथा मोडलको रुपमा प्रस्तुत गरेको हुँ ।

पैसा पनि राम्रो कमाउनु भएको छ हैन ?
समयअनुसार काम गर्दै जाँदा भोको बस्नुपरेको छैन । नराम्रो लगाउनु परेको छैन । गीत–संगीतले मलाई बचाएको छ । गीतसंगीतको कमाइले म सन्तुष्ट नै छु ।

बिहान कति बजे उठ्नुुहुन्छ ?
मेरो काम गराई र जिवनशैली अलि फरक छ । म बेलुका ढिलो नै सुत्छु, यसैले बिहान पनि ढिलै उठ्छु । तर, काम पर्यो भने यती बजे सुत्ने र उठ्ने भन्ने हुँदैन ।

तपाई अल्छि कि जाँगरिलो ?
म अल्छि स्वभावकै छु । तर, काम नै नगरी म अल्छी गरेर भने बस्दिनँ ।

रेकर्डिङ, सुटिङ वा सांगीतिक क्षेत्रका काम नभएको दिन कसरी बित्छ ?
आजभोली रेकर्डिङ तथा सुटिङमै ब्यस्त भइरहेको छु । हिजोका दिनमा गीतमा शब्द र संगीत भर्दा पनि म स्टूडियोमा नै व्यस्त हुन्थेँ । अहिले खाली समय पाएको खण्डमा हार्मोनियममा समय बिताउँछु । कहिलेकाही साथीभाइसँग भेटघाट गर्छु, चलचित्र हेर्छु ।

साथमा कति पैसा बोक्नुहुन्छ ?
म पैसा त खासै धेरै बोक्दिनँ । एटीएम भएपछि आवश्यक परे निकाल्दा भैहाल्छ ।

दिनमा खर्च कति हुन्छ ?
ठ्याक्कै यति भन्ने हुँदैन । कहिलेकाही धेरै हुन्छ, कहिलेकाही हुँदै हुँदैन ।

बिहे कहिले गर्ने सोच्नुभएको छ ?
झुटो नबोली भन्दा म अहिले गीतसंगीतको अध्ययनमा नै व्यस्त छु । अहिले नै बिहेको बारेमा केही पनि सोचेको छैन । घर बनाउँदैछु । परिवार सेटल भएपछि बिहेको बारेमा सोच्नुपर्ला ।

कसैलाई कुराउनु भएको त छैन नी ?
त्यस्तो छैन । लगन कहिले आउँछ, हेरौं ।

म्युजिक भिडियोमा अभिनय पनि गरिरहनुभएको छ । चलचित्रमा अभिनय गर्ने रुचि कत्तिको छ ?
त्यस्तो रुची त छैन । म धेरै सपनाहरु बोकेर हिड्ने मान्छे नै होइन । गाउँ समाजको वातावरणले गर्दा पनि लोकदोहोरीप्रति माया अलि बढी भयो । सानैदेखि गीतसंगीत सपना बन्यो ।

गीतसंगीतमा आईसकेपछि आफूलाई कसरी प्रस्तुत गर्ने, आफूमा कसरी निखारता ल्याउने, कसरी मिहिनेत गरेर अघि बढ्ने ? गीतसंगीत के हो ? मेरो सिर्जनालाई कसरी राम्रो बनाउने र कसरी बजारमा ल्याउने भन्ने सोच नै बढी बोकियो । मेरो अहिलेको सोच पनि यही नै हो । चलचित्रमा आउने कुनै योजना छैन ।

प्रस्तुतिः सुशिल नेपाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment