Comments Add Comment

जब बालबच्चाले घरको खानेकुरा खाँदैनन्

बच्चाहरु खानाप्रति उस्तो रुची देखाउँदैनन् । यहि कुरा नै अभिभावकको लागि टाउको दुखाईको विषय बन्ने गर्छ । त्यसैले कतिले त बच्चालाई जबरजस्ती खानेकुरा कोचिरहेका पनि हुन्छन् ।

आखिर बच्चालाई किन खानेकुरामा अरुची भएको हो ? किन उनीहरुलाई भोक नलागेको होला ?

यसमा बच्चाको गल्ती छैन, स्वंम अभिभावककै कमजोरीको नतिजा हो यो । अर्थात अभिभावककै कारण बच्चाहरुमा अरुची देखिन्छ ।

अक्सर अभिभावक केवल खानाको मात्रामा ध्यान दिन्छन् । तर, खानाको स्तरबारे भने उस्तो ख्याल गर्दैनन् । किनभने बच्चालाई सानै उमेरदेखि स्वस्थ्य बानीमा अभ्यस्त गराउनुपर्छ । बच्चाको खानपानमा लापरवाही गर्नु हुँदैन ।

बच्चालाई सानै उमेरदेखि निश्चित समयमा खाना खाने कुरामा अभ्यस्त गराउनुपर्छ । बिहान उठेपछि के ख्वाउने, त्यसपछि कुन–कुन समय, के–के ख्वाउने ? सबै कुरा निश्चित गर्नुपर्छ ।

बच्चाको लागि एउटा तालिका तयार गर्नुपर्छ, जुन तालिका अनुसार उनीहरुलाई खाना ख्वाउन सकियोस् । यसबाट के फाइदा मिल्छ भने, बच्चालाई जुन समयमा ख्वाउने गरिएको छ, ठीक त्यही समयमा भोक लाग्छ । वा खानाको तलतल लाग्छ । अब उसलाई स्वस्थ्य र पोषिलो खानेकुरा दिन सकिन्छ ।

यदि बच्चालाई चकलेट, कुकिज, आइसक्रिम खान दिइन्छ भने, त्यही गल्तीले बच्चाको भोक हराउँछ । यी खानेकुराको सेवनले बच्चाले धेरै क्यालोरी हासिल गर्छन् । त्यही कारण उनीहरुलाई समयमा भोक लाग्दैन । यो कुरा ध्यानमा राखौं कि, खाना खानुअघि हाइ क्यालोरीयुक्त कुनैपनि खाद्यावस्तु सेवन गर्न दिनु हुँदैन ।

यदि बच्चाले लन्च वा डिनरको खाना आवश्यक्ताभन्दा बढी सेवन गर्छ भने त्यो पनि सहि तरिका होइन । यसले उनीहरुको पाचन यन्त्रलाई असर गर्छ । साथै निश्चित समयमा भोक पनि लाग्दैन । कति अभिभावक सोच्छन् कि, घरमा बनाइएको खानेकुरा बच्चाले जति खाएपनि त्यसले खास असर गर्दैन वा हानिकारक हुँदैन । तर, यो सोचाई गलत हो ।

खानेकुरा जतिसुकै पौष्टिक भएपनि त्यो उचित मात्राभन्दा बढी भयो भने त्यसले हानी गर्छ । यसले उसको पाचन प्रणालीमा त असर गर्छ नै, त्यसपछिको उसको खाने तालिका पनि गडबड हुन्छ ।

त्यसैले ठीक समयमा उचित मात्रामा खाना ख्वाउनुपर्छ ।

बच्चालाई किन खानामा अरुची हुन्छ, खाना खानेबेला किन आनाकानी गर्छ ? यसको एउटा कारण हो, उसका निम्ति राम्रो डाइट चार्ट फलो नगर्नु । दिनमा तीन पटक भरपेट खाना दिनुहोस् । दुई पटक स्न्याक्स दिनुपर्छ ।

यसले गर्दा बच्चाको पाचनयन्त्र पनि चुस्त एवं तन्दुरुस्त हुन्छ । ठिक समयमा भोक पनि लाग्छ । कहिले पनि बच्चालाई खाना खानसाथ तुरुन्तै फलफूल दिनु हुँदैन ।

बच्चालाई जंकफूड खाने लत किन लागेको हो ? यसमा सबैभन्दा जिम्मेवार उनका अभिभावक नै छन् । जंकफूडको तलतल बच्चालाई त्यही बेला लाग्छ, जब उनीहरुले भोक अनुभव गर्छन् । उनीहरुलाई भोक लागेपछि खेल्न, पढ्नमा ध्यान जाँदैन । उनीहरु खानेकुराको परिकल्पना गर्न थाल्छन् । यहि क्रममा उनीहरुले बजारमा देखिने वा टिभीमा विज्ञापन आउने मीठा खानेकुरा सम्झन थाल्छन् । र, त्यही खानेकुरा खाने इच्छा जाग्छ ।

यदि बच्चालाई निश्चित समय तालिकामा खाना ख्वाउने गरियो भने उनीहरुले भोक अनुभव गर्दैनन् । उनीहरु खानेकुरामा होइन, अन्यत्रै ध्यान केन्द्रित गर्छन् । जस्तो पढ्ने, खेल्ने, रमाइलो गर्ने कुरामा ।

अतः जंकफूडको सेवन नियन्त्रण गर्न वा त्यसको लत लाग्न नदिन पनि बच्चाको लागि निश्चित समय तालिका तय गरेर त्यही अनुसार खानेकुरा ख्वाउने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment