Comments Add Comment

प्रदिपसँग नयाँ नायिकाको सहकार्य

नायक प्रदिप खड्कासँग चलचित्रमा काम गर्दा करिअर नै बदलिने आशा नयाँ अनुहारमा हुन्छ । यतिमात्र होइन, प्रदिपलाई लिएर चलचित्र बनाउँदा लगानी पनि सुरक्षित हुने विश्वास निर्मातामा छ । यसैले त प्रदिपको साथमा चलचित्र बनाउनका लागि निर्माताहरु हानथाप गरिरहेका छन् ।

प्रदिप खड्का आफै पनि चलचित्र ‘प्रेमगीत’मा काम गर्नु अगाडि राम्रो ब्यानरबाट अगाडि आउन चाहिरहेका थिए । उनै, प्रदिपलाई निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेनले चलचित्र ‘प्रेमगीत’मा अवसर दिए । यसपछि भने उनको करिअर चम्कियो ।

आजको दिनमा नयाँ अनुहार मात्र होइनन्, चलचित्र क्षेत्रमा स्थापित नायिकाहरु पनि प्रदिपसँग जोडी बन्न चाहन्छन् । तर, नायक खड्काको चलचित्र करिअर हेर्दा उनले नयाँ नायिकाहरुसँग बढी सहकार्य गर्न चाहेको देखिन्छ । उनीसँग चलचित्रमा काम गरेका नयाँ नायिकाहरुमध्ये कतिपयको करिअर अगाडि बढ्न सकेन भने कतिपय स्थापित हुने क्रममा छन् ।

नायक खड्काले चलचित्र ‘प्रेमगीत २’मा नायिका अश्लेषा ठकुरीसँग काम गरे । यो चलचित्रमा प्रदिपसँग काम गर्दा अश्लेषाको चर्चा राम्रै भयो । तर, अश्लेषाको करिअर पनि सुखद तरिकाले अगाडि बढ्न सकेन । अश्लेषाले यसपछि ‘मेरी मामु’ नामक चलचित्रमा काम गरिन् । अश्लेषा विगत केही समयदेखि चलचित्र क्षेत्र भन्दा बाहिर छिन् ।

प्रदिपसँग चलचित्र करिअर सुरु गर्ने अर्की नायिका हुन्, जसिता गुरुङ । जसिताले चलचित्र ‘लिलिबिली’मा प्रदिपसँग काम गरिन् । यो चलचित्रमा काम गरेपछि प्रदिप र जसिताको जोडीको मात्र चर्चा भएन, उनीहरुको प्रेम सम्बन्धकै चर्चा चलचित्र बजारमा खुबै चल्यो ।

यसपछि, जसिताले प्रदिपसँग दोश्रो चलचित्र ‘लभ स्टेशन’मा काम गरिन् । चलचित्र असफल भएपनि जसितालाई भने असर गरेन । उनी आजको दिनमा नेपाली चलचित्रकी सर्वाधिक माग भएकी नायिका हुन् । उनी, यतिबेला चलचित्र ‘आई एम ट्वान्टी वान’मा काम गरिरहेकी छिन् । प्रदिपसँग जोडी बाँधेर चलचित्र क्षेत्रमा डेब्यू गर्दा जसितालाई भने निकै फाइदा भयो ।

नायक प्रदिप खड्कासँग चलचित्र ‘प्रेमगीत ३’मा पनि नयाँ नायिकाले नै काम गरिन् । यो चलचित्रमा कृष्टिना गुरुङले प्रदिपसँग काम गरेकी छिन् । चलचित्र रिलिज भएको छैन । तर, प्रदिपसँग जोडी बाँधेका कारण कृष्टिनाले चलचित्र रिलिज नहुँदै यो क्षेत्रमा राम्रो हाइप भने पाएकी छिन् ।

उनै, प्रदिपसँग नयाँ चलचित्र ‘प्रकाश’मा पनि नयाँ नायिकाले काम गर्दैछिन् । फागुणको दोश्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘प्रकाश’मा प्रदिपसँग नयाँ कलाकार रेनु योगीले काम गर्ने पक्का भएको छ । रेनुले नाटक तथा वृत्तचित्रमा त काम गरिसकेकी छिन् । तर, ‘प्रकाश’ उनको डेब्यू चलचित्र हो । प्रदिपसँग जोडी वाँध्ने तयारीमा रहेकी रेनुका लागि पक्कै पनि प्रदिपको साथ फाइदाजनक नै हुनेछ । तर, चलचित्रको व्यापार र उनको अभिनयले पनि उनको करिअरको बाटो कोर्नेछ ।

प्रदिपले नायिकाहरु पूजा शर्मा, परमिता आर एल राणा, मिरुना मगर लगायतसँग पनि काम गरे । तर, यी नायिकाहरु अन्य चलचित्रमा देखिपछि प्रदिपसँग चलचित्रमा देखिएका हुन् ।
नेपाली चलचित्र क्षेत्रका चर्चित नायक प्रदिपसँग काम गर्दा नयाँ अनुहारलाई फाइदा नै भएको देखिन्छ । विशेषगरि, प्रदिपसँग काम गर्दा उनीहरुले पहिलो चलचित्रबाट नै राम्रो चर्चा पाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment