Comments Add Comment

कोरोनाको उत्पत्तिबारे अध्ययन गर्न चीन गएको टोलीको क्वारेन्टिन अवधि पूरा

Photo Credit : REUTERS

१५ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बारे अध्ययनको लागि चीन गएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टोलीको क्वारेन्टिनको बसाइ सकिएको छ । यससँगै टोलीमा रहेका वैज्ञानिकहरुले वुहान सहरमा यो भाइरस कसरी फैलियो भन्ने विषयमा अनुसन्धान गर्नेछन् । त्यसका लागि उनीहरुले शोधकर्ता संस्था, अस्पताल र समुद्री खानाको बजारका मानिसहरुसँग अन्तर्वार्ता लिनेछन् ।

यद्यपि डब्ल्यूएचओका वैज्ञानिकहरुको अनुसन्धान चिनियाँ अधिकारीहरुले दिएको प्रमाणमा आधारित हुनेछ । डब्ल्यूएचओ र चीनको महिनौं लामो वार्तापछि चीन विशेषज्ञहरुको टोलीलाई अध्ययनको लागि प्रवेश दिन सहमत भएको हो । डब्ल्यूएचओका १३ विशेषज्ञको टोली जनवरी १४ मा वुहानमा आइपुगेको थियो । त्यसयता क्वारेन्टिनमा बस्दै आएका उनीहरुको क्वारेन्टिनको अवधि बिहीबारबाट सकिएको छ ।

क्वारेन्टिनमा बस्दा टोलीले एकआपस तथा चिनियाँ वैज्ञानिकहरुसँग भर्चुअल संवाद गरेका थिए । बिहीबार डब्ल्यूएचओका विशेषज्ञहरु होटलबाट बस चढेर निस्किएका थिए । यद्यपि उनीहरुले पत्रकारहरुसँग भने केही कुरा गरेनन् । यसअघि चीनले आफ्ना विशेषज्ञहरुलाई चीनमा प्रवेश नदिएको भन्दै डब्ल्यूएचओले आपत्ति जनाएको थियो ।

कोरोनाको पहिलो संक्रमण चीनको वुहान सहरमा देखिएको थियो । तर, चीनले भने वुहानमै यसको संक्रमण देखिएको हुनुपर्ने जरुरी नरहेको बताएको छ । चिनियाँ सञ्चारमाध्यमहरुले हालै मात्र फ्रोजन खानाको माध्यमबाट कोरोना चीनमा भित्रिएको बताएका छन् । यद्यपि अहिलेसम्म स्वतन्त्ररुपमा कोरोना भाइरसको उत्पत्ति कहाँ भएको हो भन्नेबारे पुष्टि हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment