+
+
Shares

अग्निपीडितलाई राहत लिएर मन्त्री भण्डारी गोठीगाउँमा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते १६:५४

१५ माघ, सुर्खेत । अग्निपीडितलाई राहत लिएर कर्णाली सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसहितको टोली जुम्लाको गोठगाउँमा पुगेको छ ।

तिला गाउँपालिका–७, जुम्ला पोखरीस्थित गोठीगाउँमा आगलागी भएको झण्डै दुई दिनपछि अग्निपीडितलाई राहत लिएर मन्त्रीसहितको सरकारी टोली घटनास्थलमा पुगेको हो ।

आगोले अन्नपात, लुगाफाटोलगायत सबै क्षति हुँदा नागरिकहरु बिचल्लीमा छन् । स्थानीय सरकारले राहत वितरण र व्यवस्थापनमा केही सहयोग गरे पनि प्रदेश सरकारले पनि दुई दिनपछि पीडितको बस्तीमा आफ्नो उपस्थिति जनाएको छ ।

मंगलबार साँझ ६ बजेतिर गोठीगाउँ बस्तीमा आगलागी भएको थियो । बस्तीमा आगो लाग्दा ३२ घर जलेर नष्ट भएका छन् भने ७० बढि चौपाया मर्नुका साथै करोडौँको क्षति भएको प्रहरीले जनाएको छ ।

मन्त्रीसहितको टोलीले ओढ्ने ओछ्याउने, कपडा, पाल, भाँडा, दाल, चामल, नुन तेललगायतका सामग्री लिएर गएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता तुल खड्काका अनुसार अग्निपीडितका लागि ८९ थान न्यानो कम्बल, सात रोल पि–फर्म, नौ क्वीन्टल चामल, दुई बोरा नुन, सात पेटी तेल, १५० केजी दाल, २० केजी खुर्सानी तथा बेसार र २८ सेट भाँडाकुडा राहत पठाइएको छ ।

विपद प्रतिकार्यका लागि सुरक्षा निकायको टोली घटनास्थलमा पुगे पनि विकट बस्ती भएकाले पानीको अभाव हुँदा बस्ती पूर्णरूपले क्षति भएको प्रहरीले जनाएको छ ।

मन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा सदस्य पदमबहादुर रोकाया, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा र सोही गाउँका अगुवा मोतिलाल रोकाया पनि घटनास्थलमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?