Comments Add Comment

बाँकेमा स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु

१६ माघ, नेपालगञ्ज । बाँकेस्थित बैजनाथ गाउँपालिकामा रहेको टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी (छैठौं तह) रमा भारतीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे ४२ वर्षीया उनको निधन भएको हो ।

भारती जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरिकी पत्नीसमेत हुन् । गिरिलाई भने संक्रमण देखिएको छैन । बर्दियाका कोभिड–१९ फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भारतीमा अन्य कुनै स्वास्थ्य समस्या थिएन ।

‘चार दिन अघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो, उपचारका क्रममा आज निधन भयो’, श्रेष्ठले अनलाइनखबरसँग भने, ‘उहाँ महामारीको सुरुवातबाटै प्रतिकार्यमा खटिनु भएको थियो ।’
भारतीको एक/एक जना छोराछोरी छन् । नेपाली सेनाले भारतीको शव दिउँसो १ बजे जग्दीघाटमा व्यवस्थापन गर्दैछ ।

यसैबीच, भारतीको निधनमा बैजनाथ गाउँपालिकाले शुक्रबार पालिकासहित अन्तरगतको वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाह एक दिनका लागि बन्द गरेको छ । अधिकृत डोटी नेपालीले विज्ञप्ति जारी गर्दै एकदिनका लागि सेवा बन्द गरिएको जनाएका छन् ।

गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले पनि विज्ञप्ति जारी गर्दै मृतक राष्ट्र सेवक कर्मचारीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment