Comments Add Comment

दिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट, आतंकवादी आक्रमण हो कि होइन ?

१७ माघ, काठमाडौं । भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट भएको छ । भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठकै दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ बम विष्फोट भएको हो ।

विष्फोटबाट दूतावासमा भने क्षति पुगेको छैन । तर पार्किङ गरेर राखिएका केही कारका सिसा फुटेका दिल्ली प्रहरीले जनाएको छ ।

बम विष्फोट कसले र किन गरायो भन्ने खुलेको छैन । भारतका लागि इजरायली राजदूत रोन माल्काले बम विष्फोट गराउनुको उद्देश्य र बम विष्फोट गराउनेको खोजी भारतसँग मिलेर भइरहेको जानकारी दिएका छन् ।

यसैगरी दिल्ली प्रहरीका जनसम्पर्क अधिकारीले चर्चामा आउने उद्देश्यले कसैले बम विष्फोट गराएको हुन सक्ने बताएका छन् । उनले बम विष्फोटबाट भौतिक क्षति नभएको जानकारी दिएका छन् ।

घटनास्थलको निरीक्षण गरेपछि दिल्ली प्रहरीका कमिश्नर एसएन श्रीवास्तवले यस घटनाको अनुसन्धान विशेष सेलले गरिरहेको जानकारी दिँदै यो आतंकवादी आक्रमण हो कि होइन भनेर अहिल्यै भन्नु हतार हुने प्रतिक्रिया दिएका छन् ।

राजधानी नयाँदिल्लीमा बम विष्फोट भएपछि भारतभर सुरक्षा सतर्कता बढाइएको छ । सबै विमानस्थल, महत्वपूर्ण प्रतिष्ठान र सरकारी कार्यालयहरुमा सुरक्षा बढाइएको छ ।

सन् २०१२ को फेब्रुअरीमा दिल्लीमा इजरायली कूटनीतिज्ञले प्रयोग गर्ने कारमा बम आक्रमण भएको थियो । सो आक्रमणको दोष इजरायलले इरानमाथि लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment