+
+
Shares

बेनी–दरबाङ सडक सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट यातायात सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुक्खा पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध भएपछि म्याग्दीका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई बेनीसँग जोड्न वैकल्पिक मार्ग सञ्चालन गरिएको छ।
  • मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौर सडक मर्मत गरी आइतबारदेखि मिनिबस, जीप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्र्याक्टर चल्ने बनाएको छ।
  • प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार फापरखेतमा निरन्तर पहिरो खसिरहेकाले बेनी–दरबाङ सडकमा पन्छाउने काम सुरु गर्न सकिएको छैन।

१ कात्तिक, म्याग्दी । सुक्खा पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध भएपछि म्याग्दीको पश्चिमी भेगका तीन स्थानीय तहलाई सदरमुकाम बेनी बजारसँग जोड्न वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको छ ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा शनिबार अपराह्नदेखि पहिरो खस्न थालेपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौर सडक मर्मत गरी सञ्चालनमा ल्याएको हो ।

मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि गिरीका अनुसार वर्षायाममा अवरुद्ध बरञ्जा–सातबिसे–बाबियाचौर खण्डको सडक मर्मत गरी आइतबार दिउँसोदेखि मिनिबस, जीप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्र्याक्टर चल्न सक्ने बनाइएको छ ।

“निरन्तर खसिरहेको पहिरो नरोकिँदासम्म मर्मत गर्न नसकिने भएकाले दसैँको समयमा जन्मथलो जाने नागरिकलाई राहत दिने उद्देश्यले गाउँपालिकाले वैकल्पिक सडक सञ्चालन गरेको हो,” उनले भने ।

बेनी–दरबाङ सडक म्याग्दीको पश्चिमी क्षेत्रका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने मुख्य मार्ग हो ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार फापरखेतमा पहिरो निरन्तर खसिरहेकाले पन्छाउने काम सुरु गर्न सकिएको छैन ।

गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री र प्रमुख जिल्ला अधिकारी गैरेले पहिरो प्रभावित क्षेत्र तथा वैकल्पिक सडकको स्थलगत निरीक्षण गरी यातायात सञ्चालन र सडक मर्मतका लागि सहजीकरण गरेका थिए ।

विसं २०५८ देखि सञ्चालनमा आएको बेनी–दरबाङ सडकमा पहिरोको समस्या हुँदै आएको वडा सदस्य गिरीले बताए । यसपटक विगतभन्दा फरक स्थानमा पहिरो खसेपछि बाध्य भएर वैकल्पिक मार्ग सञ्चालन गर्नुपरेको उनले बताए ।

-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?