
२० माघ, काठमाडौं । कोरोना महामारीसँगै सरकारले ११ चैतमा लकडाउन सुरु गरेको थियो । त्यसपछि ठप्प भएको पर्यटक आगमन क्रमश बढ्ने क्रममा रहेको छ ।
जनवरी २०२१ मा एक महिनाको अवधिमा लकडाउनयताकै सर्वाधिक संख्यामा पर्यटक भित्रिए । अध्यागमन विभागका अनुसार जनवरीमा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल भित्रिएका छन् ।
यस अवधिमा ७ हजार २ सय ९२ जना पर्यटक नेपालबाट बाहिरिएका छन् । नेपाल र भारतबीच हवाई यातायात संचालनमा आएसँगै जनवरीमा पर्यटक आगमन समेत वृद्धि भएको देखिएको छ ।
विभागको आंकडा अनुसार भारतबाट जनवरीमा मात्र ४ हजार २८ जना पर्यटक भित्रिएका छन् । यस अवधिमा ३ हजार ५ सय ११ जना भारतीय पर्यटक बाहिरिएका छन् ।
दोस्रो नम्बरमा रहेको चीनबाट यस अवधिमा १ हजा ८ सय ७७ जना पर्यटक नेपाल आएका छन् । तेस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट मात्र ८७४ जना पर्यटक नेपाल आएको तथ्यांक छ ।
बेलायतबाट १ सय ३६ जना पर्यटक नेपाल आएका छन् । एक महिनाको अवधिमा विभिन्न १ सय २१ मुलुकबाट पर्यटक नेपाल आएको पाइएको छ ।
विश्वभर कोरोना भाइरसको खोप अभियान चलिरहेको समयमा यसले पर्यटनमा समेत उत्साहजनक नतिजा ल्याउने अपेक्षा व्यवसायीले गरेका छन् ।
जनवरीमा बढी पर्यटक भित्रिएका ५ मुलुक
भारत : ४०२८
चीन : १८७७
अमेरिका : ८७४
बेलायत : १३६
टर्की :११३
विदेशिनेभन्दा स्वदेश फर्कने नेपाली बढी
विभागका अनुसार जनवरीमा विदेशबाट नेपाल आउने नेपाली नागरिकको संख्या विदेशिने नेपालीको तुलनामा बढी देखिएको छ ।
एक महिनामा विभिन्न मुलुकबाट ४७ हजार २ सय ६७ नेपाली घर फर्किएका छन् । यस अवधिमा ३९ हजार ९ सय ४६ जना नेपाली भने विदेशतर्फ लागेका छन् ।
जनवरीमा विभिन्न देशबाट ५६ हजार १ सय ४१ जना यात्रु नेपाल भित्रँदा ४७ हजार २ सय ३८ जना यात्रु बाहिरिएको अध्यागमन विभागको तथ्यांक रहेको छ ।
प्रतिक्रिया 4