Comments Add Comment

ट्याक्सी जलेको पुरानो भिडियोले चालक परिवारमा तनाव

२४ चैत २०७१ मा आगजनीका कारण क्षतिग्रस्त बनेको निरज बानियाँको ट्याक्सी । 

२२ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव) समूहले आयोजना गरेको आमहड्तालका क्रममा बिहीबार बिहान सामाखुसीमा अज्ञात व्यक्तिले एउटा ट्याक्सीमा आगजानी गरे । ४१ वर्षीय कुम्भनारायण श्रेष्ठको प्रदेश३ – ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी जलेर खरानी भयो ।

तर, सामाजिक सञ्जालमा भने आजभन्दा पाँच वर्षअघिको भिडियो भाइरल बनाइयो, जसका कारण पीडित परिवारले अनावश्यक तनाव व्यहोर्नुपरेको छ । र, पीडित परिवारजनको आग्रह छ– हामीले बिर्सिएको पुरानो घटनालाई अहिले सामाजिक सञ्जालमा पोष्ट गरेर रमिता नदेखाइदिनुहोला ।

२४ चैत २०७१ मा तत्कालिन एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ताले बिहानको पाँच नबज्दै बालकुमारीमा निरज बानियाँको ट्याक्सीमा आगजानी गरेका थिए ।

यो पनि पढ्नुहोस बन्दकर्ताको ज्यादती : चालकलार्इ भित्र राखेर ट्याक्सीमा अागजनी (भिडियोसहित)

सो आगजनीको घटनाबारे अनलाइनखबरले पाँच वर्ष पहिले पीडित चालकको स्टोरी गरेको थियो । गरीखाने साधनलाई नै विना कारण खरानी बनाएपछि पीडामा परेका चालक सडकमै रोएका थिए ।

तर, त्यही पुरानो भिडियोको फुटेज युट्युबबाट तानेर ‘आज जलेको ट्याक्सी’ भन्दै फेसबुक, ट्वीटर, टिकटकदेखि इन्स्टाग्रामसम्म भाइरल बनाइएपछि बानियाँ परिवारले दुःख व्यक्त गरेको छ । पाँच वर्षअघिको भिडियो अहिले भाइरल बनाइएपछि निरजको परिवार थप पीडामा परेको छ ।

अहिले डिग्री पढ्दै गरेका निरजका छोरा अभिषेकले अनलाइनखबरसँग भने, ‘यसले हामीलाई फ्ल्यास ब्याकमा लगिदियो । हाम्रो बेइज्जत गरिदियो ।’

सामाजिक सञ्जालमा आफ्ना पिता रोएको पुरानो भिडियो आउन थालेपछि र साथीहरुले फोन गरेरपछि परिवारमै दुःख छाएको अभिषेकले बताए । उनले भने, ‘सामाजिक सञ्जालमा यसरी देखाइएको छ कि यो अहिलेकै घटना हो, साथीभाइहरुले पनि अहिलेकै ठाने । बुबा निराश भएर क्वाँ क्वाँ रोएको भिडियोले हामीलाई दुःखी बनाएको छ ।’

त्यतिबेला ट्याक्सी जले पनि निरजको परिवारले कहीँबाट कुनै क्षतिपूर्ति पाएन । अभिषेकले भने, ‘बुबाआमाले मेहनेत गरेर पारिवारिक अवस्था सुधार्नुभयो । तर, अहिले सामाजिक सञ्जालमा कपोकल्पित कुरा राखेर खानै नपाएजस्तो गरी पारिवारिक बेइज्जत गरिएको छ ।’

‘ट्याक्सी जल्दाखेरि म १६ वर्षको थिएँ’, अभिषेकले भने, ‘भोलि फेरि काममा निस्कँदा हैरान हुन्छ, कृपया लाइक बढाउन र कसैसँग राजनीतिक फाइदा उठाउनका लागि हाम्रो बेइज्जत नगरिदिनुस् ।’

आन्दोलनको क्रममा जसलाई क्षति हुन्छ, ऊमात्रै मर्कामा पर्ने र अरुले रमिता हेरेर बस्ने उनको बुझाइ छ । उनले भने, ‘आज जसको ट्याक्सी जलेको छ, वास्तविक पीडा उसैलाई छ । किस्ता तिर्ने हो कि के गर्ने हो, उसैलाई मर्का छ । अरु त सब विचरा भन्ने र रमिता हेर्ने मात्र हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment