Comments Add Comment

दूधौरा नदीमाथि बन्ने पुलको शिलान्यास

२३ माघ, वीरगञ्ज । १० करोड १५ लाख रुपैयाँको लागतमा बाराको दूधौरा नदीमाथि बन्ने पुलको शिलान्यास गरिएको छ । परवानीपुर गाउँपालिका– १ रहरियाडिह र प्रसौनी गाउँपालिका– ५ लाई जोड्ने पुलको शिलान्यास गरिएको हो ।

शुक्रबार प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले पुलको शिलान्यास गरेका थिए । ८२ मिटर लामो र ११ मिटर चौडा पुल निर्माणको जिम्मा रायमाझी अबलिक आजाद कम्पनीले लिएको छ । २० महिना भित्र पुल बनाइसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख रहेको रमेश सर्राफले जानकारी दिए । यो पुल बनेपछि परवानीपुर गाउँपालिकाको सदरमुकाम कलैयासँग सिधा सम्पर्क कायम हुन्छ ।

पुल बनेपछि जिल्लाको पश्चिमी भेगमा पर्ने परिवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिकाको खुटवा, बुनियाद, रहरियाडिह, कट्टी टोललाई सिधै सदरमुकामसँग जोड्ने मन्त्री सोनलले बताए ।

‘परवानीपुर र प्रसौनी गाउँपलिकाका बासिन्दालाई घुमेर सदरमुकाम जानुपर्ने बाध्यता छ । पुल बनेपछि प्रष्टोका बेलहिया हुँदै सिधै सरदमुकाम कलैया जान सक्छन्,’ उनले भने, ‘त्यतिमात्रै हैन कृषि उत्पादनलाई बजार लैजान र बजारबाट मलखाद्य गाउँमा ल्याउन पनि सहज हुन्छ ।’

पश्चिमी क्षेत्रका जनताको माग अनुसार नै दूधौरा नदीमा पुल बनाउन लागिएको उनको भनाइ छ । प्रदेश सरकारले बेलहिया गाउँमा पर्ने संसारीमाई पुलपनि ठेक्का लगाउँदैछ । पालिकाको केन्द्र जोड्ने सडक, पालिका पालिका जोड्ने सडक, सम्पूर्ण पालिकालाई र पालिकाको केन्द्रलाई जिल्ला सदरमुकामसँग जोड्ने सडक, जिल्ला सदरमुकामसँग हाईवे जोड्नेगरि सडक निर्माण गर्ने प्रदेश सरकारको योजना छ । सडकसँगै सडकमा पर्ने पुल पुलेसाहरु पनि बनाइने मन्त्री सोनलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment