
२४ माघ, काठमाडौं । काठमाडौंमा शनिबार दिउँसो सामान्य वर्षा भएको छ । काठमाडौंसँगै चन्द्रागिरी लगायतका वरपरका केही डाँडामा सामान्य हिमपात पनि भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपात हुँदैछ । पश्चिम नेपालका केही भूभागमा हल्का वर्षा भएको हो भने उच्च पहाडी क्षेत्रमा हल्का र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ ।
राति पनि प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुनेछ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राजधानीमा वर्षा हुन भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो । केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् ।
हिउँ परेसँगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढ्न थालेको छ । वर्षासँगै काठमाडौंमा चिसो बढेको छ । चन्द्रागिरीमा परेको हिउँले स्थानीय क्षेत्र मनमोहक देखिएको छ ।
तस्वीरः चन्द्र आले/आर्यन धिमाल
प्रतिक्रिया 4