Comments Add Comment

घुमाउनेघाट पुल निर्माणको म्याद सकियो, काम भने २० प्रतिशत मात्र

२५ माघ, चितवन । ठेकदारको ढिलासुस्तीका कारण गति लिन नसकेको तनहुँ-चितवन जोड्ने घुमाउने घाटको पुलको काम २० प्रतिशत सकिएको छ । डिभिजन सडक कार्यालय तनहुँका इन्जिनियर नारायण पौडेलका अनुसार अहिले ठेकदारले कामलाई गति दिन थालेको छ ।

मुग्लिनको जस्तै आर्क आकारमा बन्ने पुलको तनहुँतर्फको भागमा फाउन्डेसनको ढलानको काम भइरहेको छ । यता, चितवनतर्फ फाउन्डेसनको भाग खनेर रड बिछ्याउने काम सुरू हुन लागेको इन्जिनियर पौडेलले बताए । तनहुँतर्फ काम गर्न भूगोलको वनावटका कारणले केही असहजता भएको उनको भनाइ छ । चितवनतर्फको भागमा तनहुँतिर भन्दा सहज हुने इन्जिनियर पौडेलले बताए ।

डिजाइन एण्ड विल्डका आधारमा तयार गर्ने भनिएको पुलको जिम्मा हेटौंडाको मृत सञ्जिवनीले लिएको छ । उसको थपिएको म्याद गत पुषमा नै सकिएको छ । फेरि ६ महिना म्याद थपका लागि कार्यालयमा निवेदन दिएको इन्जिनियर पौडेलले बताए । सडक डिभिजन कार्यालय दमौलीका प्रमुख अमृत श्रेष्ठले ठेकदारले अबको एक वर्षभित्र पुलको काम सकेर जिम्मा लगाउने प्रतिवद्धता गरेको बताए । ६ महिना म्याद नथपिए जरिवाना तिरेर काम गर्नुपर्ने कार्यालयले जनाएको छ ।

समयमा नै काम नसके १० प्रतिशत हर्जना तिर्नुपर्छ । निर्माण गरिने पुलको चितवनकोतर्फको पिल्लर र सडकका कारणले नारायणगढ मुग्लिनसडकखण्ड भासिने सक्ने भन्दै सडक आयोजनाले डिजाइनसहितको सुरक्षा प्रत्याभूतिको ग्यारेन्टी माग गर्दा काममा ढिलाइ भएको ठेकदार कम्पनीको दाबी छ । ठेकेदार कम्पनीले १० प्रतिशत पेश्कीसमेत लगिसकेको छन् । पुल १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । आर्क डिजाइनमा बन्ने पुलको लागत ८ करोड २६ लाख रुपैयाँ छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी गुडाउन मिल्ने डिजाइनमा उल्लेख छ ।

घुमाउनेघाटमा पुल बन्दा नारायणगढबाट बुद्धसिंह मार्ग हुँदै दमौली जान अहिलेको दूरी २५ किलोमिटर छोटो हुन्छ । तनहुँको सदरमुकाम दमौलीदेखी घुमाउनेसम्म जम्मा ३२ किलोमिटर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment