Comments Add Comment

ए डिभिजन फुटसल लिग गर्न एन्फा र टर्नपाइकबीच सम्झौता

२५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वैशाखमा आयोजना हुने ए डिभिजन फुटसल लिगका लागि टर्नपाइक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ ।

एन्फा अन्तर्गत एन्फा फुटसल कमिटीको आयोजनामा हुने फुटसल लिगका लागि व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाइकसंग सम्झौता भएको हो ।

एन्फाको फुटसल कमिटिका संयोजक रत्नकुमार श्रेष्ठ र टर्नपाइकका सीईओ उकेश लोहनीले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि फुटसल लिगको व्यस्थापन अब टर्नपाइकले गर्नेछ ।

यस्तै सम्झौताअनुसार टर्नपाइकले फुटसल लिग व्यस्थापन र प्रबन्ध गर्न एन्फालाई २९ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

एन्फाले यसअघि नै वैशाख २५ देखि जेठ १५ सम्म पोखरामा फुटसल लिग आयोजना गर्ने जनाएको थियो । आइतबार फुटसल कमिटीले यसको आधिकारिक रुपमा घोषणा गरेको हो ।

फुटसल लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्ने एन्फा फुटसल कमिटीले जनाएको छ । जसमा बागमती प्रदेशबाट ४ टिम तथा प्रदेश १ र गण्डकी प्रदेशबाट २-२ टिम सहभागी हुने छन् । यस्तै प्रदेश २ बाट एक टिम र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट संयुक्त एक टिम हुनेछ ।

फुटसल लिगका लागि विभिन्न प्रदेशमा छनोट चरणका खेलहरु हुनेछ । जसबाट १० टिम छनोट हुनेछन् । लिगमा सहभागी क्लबहरुमा १ प्रशिक्षक, १ म्यानेजर, १ फिजियो र १४ खेलाडी हुनुपर्ने फुटसल कमिटीले जनाएको छ ।

फुटसल लिगका लागि प्रदेश १ को छनोट खेलहरु चैत १ देखि ५ सम्म इटहरीको पाथिभरा फुटसलमा हुनेछ । प्रदेश २ को छनोट चैत ८ देखि १२ सम्म हेटौँडामा हुनेछ ।

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको छनोट चैत १९ देखि २३ सम्म दाङको स्पोर्ट्स एरेना फुटसलमा हुनेछ । बागमतीको छनोट खेलहरु चैत २५ देखि ३० सम्म काठमाडौंको बैजन्ती फुटसल र मत्स्य फुटसलमा हुनेछ ।

गण्डकीको छनोट खेलहरु वैशाख ३ देखि ७ सम्म पोखराको स्पोर्ट्स क्यासल र पैयम स्पोर्ट्स सेन्टरमा हुनेछ । छनोट चरण खेल्ने टिमहरु न्यूनतम १ प्रशिक्षक १ म्यानेजर र १० खेलाडी हुनुपर्नेछ ।

छनोट चरण पार गरेका १० टिमबीचको फाइनल राउण्डको लिग पोखराको बहुउद्देश्यीय हलमा हुनेछ ।

लिगमा ए, बी र सी डिभिजन क्लब, जिल्ला संघमा आवद्ध क्लब तथा राष्ट्रिय खेलकुद परिषद्मा आवद्ध  क्लबहरुले सहभागिता जनाउन पाउने एन्फाले जनाएको छ । फुटसल लिगको विजेताले नगद १० लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

व्यक्तिगततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट कोच र इमर्जिङ खेलाडीले नगद २५-२५ हजार पाउनेछन्  । एन्फाले सहभागी १० वटै टिमलाई तयारी स्वरुप १ लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment