Comments Add Comment

भारतको उत्तराखण्डमा हिमताल फुट्दा मृत्यु हुनेको संख्या १४ पुग्यो

२६ माघ, काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल फुट्दा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार अझै पनि कम्तीमा १७० जना मानिसहरु हराइरहेका छन् । सोमबर सामाजिक सञ्जाल ट्वीटरमा उत्तराखण्डको प्रदेश सरकारले अहिलेसम्म १५ जनाको उद्धार गरिएको र १४ जनाको शव फेला परेको जानकारी दिएको हो ।

आइतबार हिमताल फुटेपछि आएको अलकनन्दा नदीको बाढीका कारण ऋषिगंगा जलविद्युत् आयोजना नै बगाएको छ । बाढीपछि बेपत्ता भएका अधिकांश मानिसहरु नदी क्षेत्रको दुई आयोजनामा काम गर्ने मजदुर छन् ।

सरकारले अहिले उद्धारका लागि यो क्षेत्रमा सयौं सुरक्षाकर्मीहरु परिचालन गरेको छ । उदारकर्मीहरुले अहिले साढे दुई किलोमिटर लामो सुरुङमा आफ्नो खोजी केन्द्रित गरेका छन् । यो सुरुङमा धेरै मानिसहरु फसेको आशंका छ । उद्धारकर्ताहरुले यो सुरुङको मुख खोल्ने र भित्र पस्ने प्रयास गरिरहेका छन् । आइतबार अर्को एक सुरुङबाट १२ जनाको उद्धार गरिएको थियो ।

स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले मानिसहरुको उद्धारका लागि चारसयभन्दा धेरै सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । स्थानीयहरुले बताएअनुसार आइतबार हिमताल फुटेपछि निकै कम समयमा ठूलो बाढी आएको थियो । त्यसैले कसैलाई पनि आउनसक्ने विपत्तिको विषयमा सचेत गराउन पाइएको थिएन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबारको घटनामा ज्यान गुमाएका मानिसको परिवारलाई दुई लाख राहत र गम्भीर घाइते भएका मानिसलाई ५० हजार प्रदान गरिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment