Comments Add Comment

तीन वर्षसम्म कर्मचारीले बुझाएनन् जिससको ल्यापटप

प्रतिनिधिमूलक तस्‍वीर

२७ माघ, गोरखा । साविकको जिल्ला विकास समितिका पाँच जना कर्मचारीले कार्यालयको ल्यापटप आफैंसँग राखेका छन् । स्थानीय तहमा समायोजन भएको तीन वर्षमा पनि ल्यापटप फिर्ता नगरेको जिल्ला समन्वय समितिले जनाएको छ ।

जिविसमा कार्यरत हुँदा कार्यालय प्रयोजनका लाग दिएको ल्यापटप स्थानीय तहमा समायोजन भएको ३ वर्षसम्म फर्ता नगरेको जिससका शाखा अधिकृत विजयराज वाग्लेले बताए ।

‘ल्यापटप फिर्ता गरिदिन भन्दै हामीले पटक/पटक उहाँहरु कार्यरत स्थानीय तहमा पत्राचार गर्‍यौं,’ उनले भने, ‘तर अहिलेसम्म फिर्ता गर्नुभएको छैन ।’ ल्यापटप फिर्ता नगरेपछि गत पुस ९ गते पनि कार्यालयले सम्बन्धित स्थानीय तहमा पुनः पत्राचार गरेको उनले बताए ।

ल्यापटप फिर्ता नगर्नेमा साविकको जिविसका कर्मचारी दीपेन्द्र अर्याल, विमला वाग्ले, जानुका कुवँर, शोभा दवाडी प्रधान र लालु गुरुङ रहेको जिससले जनाएको छ । उनीहरुमध्ये अर्याल र गुरुङ पालुङटार नगरपालिका तथा वाग्ले, कुवँर र दवाडी गोरखा नगरपालिकामा कार्यरत छन् ।

जिससका अनुसार दवाडीसँग ल्यापटप र स्क्यानर छ । दवाडीले केही दिनमै ल्यापटप बुझाउने बताएकी छिन् । ‘स्क्यान्नर म सँग छैन कार्यालयमै छ, ल्यापटप मात्र हो, अब आजभोलिमा फिर्ता गर्छु,’ अनलाइनखबरसँग उनले भनिन् ।

वाग्लेले पनि ल्यापटप फिर्ता नगरेको स्वीकार गरिन् । ‘सरुवा भएर अन्त जानेले त फिर्ता गरेका छैनन्, म त यही ढोका नजिकै काम गर्छु, तर राज्यको सम्पत्ति हो फिर्ता गर्नुपर्छ, अब फिर्ता गर्छु,’ उनले भनिन् ।

कुँवरले आफूसँग रहेको ल्यापटप प्रयोगविहीन अवस्थामा रहेको बताइन् । ‘थोत्रो भएर चलेको छैन, अफिसलाई दिए पनि त्यो काम छैन, तर फिर्ता गर्छु,’ उनले भनिन् ।

पालुङटार नगरपालिकामा कार्यरत अर्याल र गुरुङ भने फोन सम्पर्कमा आउन चाहेनन् । जिससको कार्यालयमा हाल एउटा मात्र ल्यापटप रहेको शाखा अधिकृत वाग्लेले बताए । ‘राज्यको सम्पत्ति व्यक्तिले लिँदा यहाँ कार्यालयको काम गर्न पनि समस्या भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment