Comments Add Comment

प्रदेश २ मा कोरोना खोप : मन्त्री र नेताले लगाइसके, स्वास्थ्यकर्मी नै बाँकी

प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव कोरोनाविरुद्धको खोप लगाउँदै ।

२७ माघ, जनकपुरधाम । स्वास्थ्यकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स चालकसहित कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि  अग्रपंक्तिमा खटिएकालाई पहिलो चरणमा खोप दिने गरी सरकारले निर्देशिका बनाए पनि प्रदेश २ मा जथाभावी तरिकाले खोप लगाएको पाइएको छ ।

मन्त्री, राजनीतिक दलका नेतादेखि व्यापारीसम्मले यो खोप पहिलो चरणमै लगाएका छन् भने कतै स्वास्थ्यकर्मीले नै खोप लगाउन बाँकी देखिएको छ ।

प्रदेश २ का ८ जिल्लाका ३४ हजार ८ सय ४ जना फ्रन्टलाइनरका लागि पहिलो चरणमा खोप आएकामा हालसम्म २५ हजार ६ सय ३७ जनाले लगाएका छन् ।

खोप शुभारम्भ हुने दिन प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव आफैंले खोप लगाए ।  यसपछि प्रदेशको सत्तारुढ दल जनता समाजवादी पार्टीका युवा नेता किशोर कुमार यादव ‘केसी’ ले पनि खोप लगाए । यीबाहेक व्यापारी, सरकारी कार्यालयका सवारी चालकसमेतले खोप लगाएका छन् ।

निर्देशिका विपरीत पनि खोप लगाएको पाइएको प्रदेशको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देश विजय झा पनि स्वीकार गर्छन् । ‘यो गलत भएको छ’ उनले भने, ‘निर्देशिका बाहिर जानुहुन्नथ्यो । तर कतिपय ठाउँमा त्यो देखिएको छ । अबका दिनमा यो सुधार हुन्छ ।’

यद्यपी स्वास्थ्यकर्मी नै खोप लगाउन डर मानेको झाको भनाइ छ । खोपले कुनै साइड इफेक्ट गरेको नदेखिएपनि स्वास्थ्यकर्मी लगाउन नमानेकाले अहिलेसम्म पहिलो चरणको खोप कार्यक्रमको लक्ष्य पूरा हुन नसकेको उनको भनाइ छ ।  ‘खोपबारेको शंका, उपशंकाका कारण कतिपय स्वास्थ्यकर्मीले लगाउनुभएको छैन’ उनी भन्छन्, ‘दोस्रो चरणमा उनीहरुलाई लगाइन्छ ।’

महोत्तरी र पर्सामा शत प्रतिशतभन्दा बढी

महोत्तरीमा पहिलो चरणमा २ हजार १ सय ९१ जनाले खोप लगाउने भनिए पनि २ हजार २ सय ७५ जनाले खोप लगाएका छन् । पर्सामा ४ हजार ९ सय ७१ जनाका लागि खोप पुगेकामा ५ हजार १ सय १८ जनाले खोप लगाएका छन् ।

कारागारका कैदीबन्दी र बृद्धाश्रममा रहेका व्यक्तिलाई पखोप लगाइएकाले यी दुई जिल्लामा तोकिएको संख्याका भन्दा बढीले खोप लगाएका झाले बताए ।

सप्तरीमा ३ हजार ७ सय ५४ जनाको लागि खोप उपलब्ध भएकोमा ३ हजार ६ सय ९३ जनाले, धनुषामा ९ हजार १ सय ८२ जनालाई लक्षित गरिएकोमा ३ हजार ८ सय ३ जनाले मात्रै खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सर्लाहीमा ४ हजार ७ सय ७२ जनाका लागि खोप उपलब्ध भएकोमा २ हजार ९ सय ७६ जनाले, रौतहटमा ३ हजार ६ सय ९ जनामा २ हजार ५ सय ३९ जनाले र बारामा २ हजार ३ सय ९५ जनामध्ये १ हजार ८ सय ७ जनाले खोप लगाएको निर्देशनालयका निर्देशक झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment