Comments Add Comment

धेरै गोल गर्दा पनि किन खुशी छैनिन् साम्बा ?

२८ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा अहिले राष्ट्रिय महिला लिग भइरहेको छ । तीन विभागीय टोली र चार नगरपालिकाको टोली गरी ७ टिमले डबल राउण्ड रोविनका आधारमा खेलिरहेका छन् । पहिलो पटक महिला लिग डबल राउण्ड रोविनका आधारमा भइरहेको छ ।

विभागीय टोली महिला फुटबलमा सधैं बलियो टोली हो र उपाधि दाबेदारका रुपमा छन् । यसपटक नगरपालिकाका टोलीहरु पनि छनोट चरण पार गर्दै राष्ट्रिय लिगमा खेलिरहेका छन् । तर केही खेलमा भने अझै गोल अन्तर धेरै देखिएको छ ।

विभागीय टिमले वर्षैभरी जस्तो प्रशिक्षणको अवसर पाउँदा नगरपालिकाका टिमहरु भने लिगका बेला मात्र तयारी गरेर खेल्न आएका छन् । त्यसैले पनि केही खेलमा हार जितको अन्तर बढी देखिएको हुन सक्छ ।

साविक विजेता समेत रहेको एपीएफले पछिल्लो खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४-० को फराकिलो अन्तरले पराजित गर्‍यो । जसमा सावित्रा भण्डारी साम्बाले एक्लै ८ गोल गरिन् ।

पहिलो चरणमा एपीएफले चौदण्डीलाई २२-० ले पराजित गर्दा सावित्राले एक्लै १२ गोल गरेकी थिइन् । एउटै विपक्षीविरुद्ध दुई खेलमा उनले २० गोल गरिन् ।

लिग भएकाले उपाधि होडमा गोल अन्तरले पनि धेरै अर्थ राख्छ । तर विभागीय टिम र नगरपालिकाको टिमबीच अझै अन्तर देखिएको छ ।

यस पटक एन्फाले लिगलाई प्रतिस्प्रधात्मक बनाउने विभाग बाहेकका टिमलाई ४ विदेशी खेलाडी राख्न अनुमति दिएको थियो । जसको सदुपयोग स्याङ्जाको वालिङ नगरपालिकाकाले राम्रैसँग गरिरहेको छ भने अन्य नगरपालिका टिममा विदेशी खेलाडीको प्रदर्शन प्रभावकारी हुन सकेको छैन ।

चौदण्डीगढीले पनि दोस्रो चरणमा आएर मात्र चार भारतीय खेलाडीलाई लिगमा अनुबन्ध गरेको हो ।

अहिलेसम्म ७ खेल खेल्दा त्रिभुवन आर्मीबाहेक सबै खेलमा गोल गरेकी एपीएफकी सावित्राले नगरपालिको टिमलाई धेरै गोल गर्दा लिगको उपाधि होडमा सहज हुने भए पनि यसले आफूलाई खासै खुशी नदिएको बताइन् । ‘टिम हेरेर हुन्छ । धेरै गोल गर्नुपर्ने बाध्यता छ । किनकि यो लिग हो । लिग भएर धेरै गोल गर्दा खुशी त भइन्छ तर कस्तो टिमलाई गोल गर्‍यो भन्ने हुन्छ,’ सावित्राले अनलाइनखबरसँग भनिन् ।

नगरपालिकाको टिमसँग धेरै गोल गर्दा नयाँ खेलाडीहरुलाई नराम्रो फिल हुन सक्ने उनले बताइन् । ‘धेरै गोल गर्दा पनि खासै खुशी छैन । अरु टिममा सबै बहिनीहरु छन् मैले गोल गर्दा उनीहरुलाई डिमोरलाइज फिल हुन पनि सक्छ ।’

सावित्राले पहिलो चरणमा दुई विभागीय टोली आर्मी र पुलिससँग गोल गर्न संघर्ष गर्नुपरेको थियो । आर्मीसँग गोल गर्न नसकेकी उनले पुलिसविरुद्ध भने ह्याटि्रक गरेकी थिइन् । तर पनि विभागीय टिमसँग खेल्दा गोल गर्न कठिन हुने उनले बताइन् । किन कठिन हुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘पुलिस र आर्मीसँग गोल गर्न कठिन हुन्छ किनकि टिमको उस्तै स्पिड छ । टिम राम्रो छ ब्यालेन्स छ,’ उनले भनिन् ।

हरेक खेलमा गोलको वषर्ा गर्दै आएकी सावित्रा जारी लिगमा सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छिन् । उनले अहिलेसम्म ७ खेल खेल्दा ६ खेलमा गोल गरेकी छिन् । उनले सर्वाधिक ३२ गोल गरेकी छिन् ।

एक खेलमा चार ह्याटि्रक गरेकी उनले एक खेलमा डबल ह्याटि्रक गरेकी छिन् । उनले एक खेलमा गोल गरिनन् भने एक खेलमा दुई गोल मात्र गरिन् । बाँकी ५ खेलमा ३ वा त्योभन्दा बढी गोल गरिन् ।

‘गोल कति गर्‍यो भन्दा पनि कस्तो टिमविरुद्ध गोल गर्‍यो त्यो महत्वपूर्ण हुन्छ,’ सावित्राले भनिन् ।

लिगमा एपीएफले अहिलेसम्म खेलेको सातवटै खेलमा शतप्रतिशत जित हात पारेको छ । २१ अंकसहित शीर्ष स्थानमा रहेको एपीएफ उपाधि होडमा अघि छ । धेरै गोल गर्नेमा सावित्राका प्रतिस्पर्धी धेरै तल छन् । उपाधि होडमा एपीएफलाई टक्कर दिन सक्ने टोलीको रुपमा आर्मी मात्र देखिएको छ । ८ खेल खेलिसकेको आर्मी १९ अंकसहित दोस्रोमा छ । एक खेल कम खेल्दा पनि एपीएफले २ अंकको अग्रता कायमै राखेको छ ।

लिगमा पहिलो टार्गेट उपाधि नै भएको सावित्राले सुनाइन् । ‘हाम्रो पहिलो टार्गेट उपाधि नै हो,’ उनले भनिन्, ‘मैले व्यक्तिगत रुपमा केही सोचेको छैन । पहिलो टिमको लागि सोचेको छु ।’

कोरोना महामारीका कारण तोकिएकोभन्दा झण्डै १० महिनापछि भइरहेको राष्ट्रिय लिगमा यसपटक सहभागी टिमहरुले धेरै खेल खेल्न पाइरहेका छन् । डबल लिग भएकाले एउटै विपक्षीविरुद्ध २ खेल खेल्ने अवसर पनि पाइन्छ । तर एक दिन बिराएर खेल्दा खेलाडीहरु घाइते हुने समस्या भने देखिएको छ ।

यद्यपि यसपटक लिग पहिलाको भन्दा राम्रो तरिकाले भएको सावित्राले बताइन् । ‘पहिलाभन्दा व्यवस्थित लिग छ । पहिले हप्ता/दश दिनमा खेल सकिन्थ्यो, आफ्नो गल्ती र राम्रो पक्ष छुट्याउन सकिदैनत्थ्यो । यसपालि एउटा गेम बि्रगिए पनि अर्कोमा सुधार गर्न पाइन्छ,’ सावित्राले भनिन् ।

यस्तै नगरपालिकामा विदेशी खेलाडी हुँदा खेल पनि प्रतिस्पर्धात्मक भएको उनले बताइन् । ‘नगरपालिकामा विदेशी खेलाडी छन् । त्यसैले कुनै खेल सहज हुँदैन । पहिला तीन विभागीय टिम एपीएफ, पुलिस, आर्मीको राज थियो । यसपालि सबैसँग प्रतिस्प्रधात्मक गेम हुन्छ । पहिलाभन्दा राम्रो भइराछ ।’

‘अर्को वर्षदेखि नगरपालिकाको टिममा अझै राम्रो विदेशी खेलाडी आउँछ होला त्यसले गर्दा अझ राम्रो हुन्छ लिग ।’

अहिलेसम्म एपीएफको नतिजा र सावित्राको गोल

एपीएफ ६-० चन्द्रपुर, सावित्रा ३ गोल
एपीएफ ७-० विराटनगर, सावित्रा ४ गोल
एपीएफ २-० आर्मी, सावित्राले गोल गर्न सकिनन्
एपीएफ ३-० पुलिस, सावित्रा ३ गोल
एपीएफ ३-० वालिङ, सावित्रा २ गोल
एपीएफ २२-० चौदण्डीगढी, सावित्रा १२ गोल
एपीएफ १४-० चौदण्डीगढी, सावित्रा ८ गोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment